शील्क ट्रान्सपोर्टले ल्याएको ९ सय ८० कार्टुन भेप तातोपानी भन्सारको सुरक्षामा 

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

980 cartons brought by Shilk Transport under the protection of Vape Tatopani customs

काठमाडौँ — शील्क ट्रान्सपोर्टले चीनबाट ल्याएको एक कन्टेनर विद्युतीय चुरोट (भेप) तातोपानी भन्सारको गोदाममा सुरक्षित गरिएको छ ।

भेपको जाँचपास नहुने भएकाले ट्रान्सपोर्टकै अनुरोधमा ९ सय ८० कार्टुन भेप भन्सार गोदाममा राखिएको हो । भेप राखिएको कार्टुनलाई सुरक्षा दिएर गोदाममा थन्क्याएको जानकारी तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेले जानकारी दिए । 

उनका अनुसार शील्क ट्रान्सको अनुरोधमा भेपलाई आफ्नै गोदाममा राखेर सुरक्षा दिइएको हो । उक्त भेपको मालिकको परिचय खुलेको छैन । भन्सार स्रोतले भन्यो, ‘आयातकर्ता वा खरिद गरेर पैठारी गर्ने व्यक्तिले दाबी नगरुन्जेलको जिम्मेवारी ट्रान्सपोर्टकै हो ।’

यसअघि पनि नियन्त्रणमा लिएको २ सय कार्टुनभन्दा बढी भेप भन्सारले गोदाममा राखेको छ । दुई साता अघि तातोपानी नाकाभएर भित्रेको करिब ९ सय थान भेप इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले अरनिको राजमार्ग भएर काठमाडौं आउँदै गरेको अवस्थामा बरामद गरेर राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । 

राजस्व अनुसन्धान विभागले गत पुसमा भने काठमाडौं इमाडोलस्थित शील्क ट्रान्सपोर्टको गोदामबाट भन्सारबाट जाँच पास नभएको ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्वले २० करोड १६ लाख बैंक ग्यारेन्टी लिएर भेपसँगै पक्राउ परेका गोदामका कर्मचारीलाई गत फागुनमा हिरासत मुक्त गरेको थियो । 

उक्त बैंक ग्यारेन्टीको व्यवस्थापन शील्कका कर्मचारी विजय शेर्पाले मिलाएको जानकारी विभागले दिएको छ । शील्क ग्रुपका अध्यक्ष रमेश शेर्पा हुन् । शील्क कम्पनीले मुख्यतः चीनबाट व्यापारिक मालवस्तु पैठारी गर्ने ट्रान्सपोर्टको काम गर्दै आएको छ । भन्सार गोदाम व्यवस्थापनको जिम्मेवारी पाउने निजी क्षेत्रको कम्पनी मध्येको एउटा हिस्सेदार शील्क पनि हो । भेप पनि शील्कले नै कन्टेनरमा राखेर आइतबार तातोपानी भन्सार हातामा भित्र्याएको थियो । 

भेप गत आर्थिक वर्षसम्म वैधानिक रुपमा आयात हुने गरेको थियो । चीनसँग जोडिएको रसुवा र तातोपानीबाट आयात हुने भेपबाट गत आर्थिक वर्षमा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको थियो । गत बैशाखमा स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको जाँच पास गर्न सकेका छैनन् । 

आयात–निर्यातको अनुमति दिने बाणिज्य विभागले भने कुनै बन्देज लगाएको छैन । स्वास्थ्य मन्त्रालयको पत्राचारको आधारमा जाँच पास रोकिँदै आएको छ । जाँचपास रोकिएपछि चोरी पैठारी बढेका राजस्वका अधिकारीहरु बताउँछन् ।

आयातित भेपको ठूलो परिणाम दक्षिणी नाका भएर भारत जाने गरेको छ र चोरी निकासी हुने भएकाले तराइका नाकाहरुबाट भेप बरामद हुने गरेको छ । पछिल्लो समय मुस्ताङको कारोला नाकाबाट पनि भेपको चोरी पैठारी हुने गरेको छ । प्रहरीले गत पुसमा मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully