हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल : सचिव भट्टराई

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Winter session successful in terms of legislative work: Secretary Bhattarai

काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनका अनुसार हिउँदे अधिवेशनमा १३ वटा विधेयक संसद्ले पारित गरेको छ, जुन विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि हो।

उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताउँदै सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू हिउँदे अधिवेशनमा प्रस्तुत गरेको उल्लेख गरे ।

सचिव भट्टराईले भने, 'यो हिउँदे अधिवेशनमा १३ वटा विधेयक संसद्ले पारित गरेको छ। विगतको तुलनामा यो निकै महत्त्वपूर्ण उपलब्धि हो। संसद् आज चलेको भए थप दुई वटा विधेयक पनि पारित हुने थिए। विधायिकी कामको हिसाबले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन। यसबीचमा संसदीय समितिहरूले पनि पर्याप्त बैठकहरू गरेका कारण यो सम्भव भएको हो।'

उनका अनुसार सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलसम्बन्धी ऐन विधेयक प्रस्तुत गरेको छ । उनले भने, 'नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयकहरु जो दशकौंदेखि यो कानून बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानून नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ ।'

सचिव भट्टराईले प्रधानमन्त्रीले चार पटक संसद्लाई सम्बोधन गर्नु संसद्लाई दिइएको विशेष महत्त्वको संकेत भएको बताए । साथै, हिउँदे अधिवेशनमा समसामयिक राजनीति र संसद्मा उठेका विभिन्न विषयहरूमा गहन छलफल भएको उल्लेख गरे ।

उनले २०७९ पछि बनेको प्रतिनिधिसभामा परिपक्वता र सहिष्णुताको अभाव देखिएको टिप्पणी पनि गरे ।

कान्तिपुर

Link copied successfully