रवि लामिछानेको निलम्बन फुकुवा गर्न सभामुखसँग रास्वपाको माग 

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

RSP demands the Speaker to lift the suspension of Ravi Lamichhane

काठमाडौँ — पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाले सभामुखसँग माग गरेको छ ।

निलम्बन फुकुवा गरिमाग्न लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न संघीय संसद् सचिवालय नयाँबानेश्वर पुगेका थिए ।

लामिछानेको सांसद पद गत पुस ८ मा निलम्बन गरिएको थियो । पोखरामा सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद निलम्बन भएको थियो । 

रास्वपाले प्रतिनिधिसभा नियमावलीमा सांसद पद निलम्बनको व्यवस्था नभएको भन्दै फुकुवाको माग गरेको हो । ‘प्रतिनिधिसभा नियमावलीमा सांसद निलम्बन पूर्पक्षका लागि थुनामा पठाएमा मात्रै हुने भन्ने व्यवस्था छ, निलम्बन फुकुवा हुनुपर्छ भन्यौं,’ रास्वपा सांसद सोविता गौतमले भनिन् । सरकारले सांसद निलम्बन राजनीतिक प्रतिशोध साँध्नका लागि दुरुपयोग गरिरहेकाले सभामुखले रोक्नुपर्ने आग्रह गरिएको गौतमले बताइन् । 

सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार चल्नुपर्ने, अन्य कानुनमा टेकेर राजनीतिक प्रतिशोध साँध्ने हतियार बनाउनबाट रोक्नुपर्ने रास्वपाले माग गरेको हो । सभामुखले भने सांसद निलम्बन गर्ने अन्य कानुनहरूमा नै संशोधन गर्नुपर्ने बताएका थिए । रास्वपाले यसअघि पनि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्नुपर्ने माग राखेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully