ज्ञानेन्द्रलाई पत्र काटेकामा राजावादीको आपत्ति

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Rajawadi's objection to cutting the letter to Gyanendra

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चैत १५ मा तीनकुने क्षेत्रको प्रदर्शनमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति पुर्‍याएको ठहर गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएकामा राजावादीले आपत्ति जनाएका छन् ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार विज्ञप्ति जारी गर्दै महानगरले शाहलाई जरिवाना पत्र पठाएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले जारी गरेको विज्ञप्तिमा जरिवाना लिने निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । तीनकुनेको कार्यक्रमका लागि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रशासनबाट अनुमति लिएको हुँदा आयोजकलाई जरिवाना नगरी पूर्वराजालाई पत्राचार गर्ने निर्णय महानगरको पूर्वनीतिविपरीत भएको समेत समितिको भनाइ छ । पूर्वराजा शाहबारे भ्रम र अनास्था सिर्जना गर्ने उद्देश्यले महानगरले पत्र पठाएको ठहरसमेत समितिले गरेको छ । जरिवानाको निर्णय फिर्ता नलिएमा त्यसविरुद्ध कानुनी कारबाहीमा जानेसमेत समितिले जनाएको छ । 

महानगरपालिकाले तीनकुने क्षेत्रमा भएको प्रदर्शनबाट क्षतिमा मुख्य दोषी ठहर गर्दै शाहलाई विभिन्न ८ शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १–१ लाख र एउटा शीषर्कमा ६३ हजार गरी ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको थियो । तर, निर्मल निवासमा पत्र बुझ्न अस्वीकार गरिएपछि हुलाकबाट पत्र पठाएको महानगरले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully