राजावादी विध्वंस : १८ जना अझै अस्पतालमा, १३ जनाको शल्यक्रिया

गत शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा १२९ जना घाइते भए, १८ जना उपचाररत छन्

चैत्र १९, २०८१

विवेक पोख्रेल

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgery

काठमाडौँ — २४ वर्षीय दिनेशकुमार खत्री (नवराज) लाई शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन छ भन्ने जानकारी त थियो नै तर आन्दोलनप्रति भने उनको कुनै रुचि थिएन । साँझपख बहिनी रेविका खत्री (अंकलकी छोरी) को फोन आयो । २२ वर्षीया रेविका नरेफाँटमा रहेको खाद्यान्न पसलमा हिसाबकिताबको काम गर्थिन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–६, बेलटार सातधारेका उनीहरू पढ्नका लागि काठमाडौं आएका थिए । पढाइ खर्च जुटाउन रेविकाले उक्त काम गरिरहेकी थिइन् ।

‘बहिनीको कोठा ग्वार्कोमा थियो, राजावादीको शुक्रबारको प्रदर्शनका कारण गाडी नचलेपछि उनी बीच बाटोमै रोकिएकी रहिछन् । प्रहरी र प्रदर्शनकारीको झडप भएपछि कोठामा जान डराएकी बहिनीले मेरै कोठामा आउँछु भन्दै मलाई लिन बोलाइन्,’ दिनेशले भने, ‘मेरो कोठा कोटेश्वरको एसओएस स्कुल पछाडिको गल्लीमा पर्छ । पाँच बज्दै थियो, बहिनी डराउँदै कोटेश्वरको आकाशे पुल हुँदै आइन्, मैले उनलाई हात समातेरै भित्री बाटो हुँदै लिएर जाँदै थिएँ, कोठामा पुग्नै लाग्दा गोलीको आवाज सुनियो । एकाएक बहिनी ढलिन् ।’ 

दिनेशका अनुसार बहिनीको दाहिने खुट्टाको तिघ्राबाट रगत बग्न थालेको थियो । ‘पछि थाहा भयो उनको दाहिने र मेरो देब्रे खुट्टाको तिघ्रामा गोली लागेको रहेछ । हाम्रो तिघ्रा छेडेर निस्केको त्यही गोलीले नजिकैको सटरसमेत प्वाल पारेको थियो,’ उनले थपे, ‘बहिनीको अवस्था गम्भीर छ ।’ दिनेशले प्रदर्शन छल्दै भित्री बाटो कोठातर्फ आउँदा पनि दुर्घटना परेकामा खिन्नता व्यक्त गरे । उनी यही महिना अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा थिए । नेपालमा स्नातक सकेपछि उनी मास्टर एन्ड प्रोफेसनल एकाउन्टिङका लागि सिड्नी जान लागेका हुन् । 

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgeryदिनेशकुमार खत्री

दिनेशका अनुसार उक्त बाटोमा केही प्रदर्शनकारी देखिए पनि ठूलो भीड भने थिएन । त्यसबेला प्रदर्शनकारीले खत्री दाजुबहिनीलाई गोली लागेको ठाउँ नजिकै भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट गरिरहेका थिए । रेविकाको हाल सिभिल अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै छ । ‘उनको खुट्टाको दुई पटक अप्रेसन गर्नुपर्‍यो,’ अस्पतालमा बहिनीको हेरचाह गर्दै आएकी दिदी अनिताले भनिन्, ‘दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेको रहेछ । पछि नसाले काम नगरेपछि पुनः अप्रेसन गरेर देब्रे खुट्टाको नसासँग जोडिएको छ ।’ 

तिघ्रामा रहने मुख्य नसा फुटेपछि त्यसलाई शल्यक्रिया गरी अर्को तिघ्राबाट नसा ल्याएर जोडिएको (फ्युमरल आर्टरी रिपेयरमेन्ट विथ भस्कुलर ग्राफ्ट) छ । तिघ्राको मांसपेशीमा गम्भीर प्रकारले दक्खल परेका कारण प्लास्टिक सर्जरीसहित थप शल्यक्रिया आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सोमबार बिहान रेविकालाई भेन्टिलेटरबाट निकालिएपछि अवस्था स्थिर रहे पनि पूर्ण रूपमा चिन्तामुक्त हुने अवस्था भने भइनसकेको चिकित्सकले जानकारी दिएका छन् ।

रेविका यतिबेला आउँदै गरेको बीबीए तेस्रो सेमेस्टरको परीक्षाको तयारी गरिरहेकी थिइन् । ‘सरकारी बैंकमा जागिर खाने हो भन्थिन्,’ अनिताले भनिन्, ‘होसमा आएपछि बहिनीले मेरो जिन्दगी सकिने भयो, मेरो सबै सपना सकिए, अब केही गर्न नसक्ने भएँ भन्छे ।’ 

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgeryरेविका खत्री

रेविकाका बुबा तुलसीराम खनाल चौदण्डीगढी नगरपालिकाका एमालेबाट मनोनीत कार्यपालिका सदस्य हुन् । छोरीलाई गोली लागेको खबर सुनेपछि उनी श्रीमतीसँगै काठमाडौं आएका छन् । ‘पढेर रोजीरोटी गरेर खान्छु भनेर फर्किंदै गर्दा गोली लाग्यो । मेरी छोरी आन्दोलन गर्न सडकमा गएकी होइनन्,’ खनालले भने, ‘केही गर्छु भनेर काठमाडौंमा पढाइसँगै संघर्ष गरिरहेकी मेरी छोरीको जीवन नै बिचल्ली भयो । उसको जीवन के होला ? भविष्य के होला ? मेरी छोरीले पाउने सेवा सुविधा, क्षतिपूर्ति र भविष्यको ग्यारेन्टी यो राज्यले गर्दियोस् ।’

खत्री परिवारको आर्थिक अवस्था सामान्य छ । गाउँमा उनीहरूको परिवारको सानो दूध डेरी छ । घरखर्च धान्न मुस्किल भएपछि अनिता र रेविकाका दाइ जापान गए । एक वर्ष नपुग्दै कोभिड महामारी सुरु भयो । सोचेजस्तो कमाइ भएन । ‘दुई वर्षअघि बुबाको फोक्सोमा पानी जमेपछि ७ लाख खर्च गरेर उपचार गरेका थियौं, आमा नियमित औषधि प्रयोग गर्नु हुन्छ,’ अनिताले भनिन् । अनिता पढ्दै रेस्टुरेन्टमा काम पनि गर्छिन् । आफू पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण जापान जाने तयारीमा रहेको उनले बताइन् । ‘आउँदो ४ तारिखमा मेरो भिसा आवेदन दिने मिति छ । परिवार चलाउन र ऋण तिर्न जापान जाने सोचेको थिएँ,’ अनिताले भनिन्, ‘तर, अब बहिनीको यस्तो अवस्था भएपछि केही सोच्नै सकिरहेको छैन । भिसा र टिकटका लागि बचत गरेको पैसा बहिनीको उपचारका लागि खर्च गरिरहेको छु । आफन्तले पनि सहयोग गर्नुभएको छ ।’ 

...

झापाकी ४० वर्षीया इन्द्रमाया लिम्बू ८ वर्षदेखि काठमाडौं बस्दै आएकी छन् । उनलाई कम्मर, ढाड, खुट्टा दुख्ने, पोल्ने र झमझमाउने समस्या छ । त्यही कारण ४ महिनादेखि नियमित रूपमा बालकुमारीमा रहेको एचवान सेन्टरमा थेरापी गर्न पुग्छिन् । तर, शुक्रबारको दिनले उनको शरीर र परिवारमा थप पीडा दिएको छ । इन्द्रमायाका अनुसार शुक्रबार थेरापी गरेर नरेफाँटमा रहेको कोठामा फर्किंदै गर्दा उनको देब्रे खुट्टामा गोलीको छर्रा लागेको थियो । ‘मेरो स्वास्थ्यमा समस्या छ, नियमित थेरापी गर्छु,’ उनले भनिन्, ‘शुक्रबार थेरापी सकेर फर्कंदै गर्दा सडकभरि प्रदर्शनकारी र प्रहरी थिए । अचानक गोली चलेको आवाज आएपछि म तर्सिएर भागें । तर त्यही बेला खुट्टाभरि रगत बगेको देखेपछि बल्ल थाहा भयो, मलाई त गोली लागेको रहेछ ।’ 

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgeryइन्द्रमाया लिम्बू

राजावादीले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनमा प्रहरीले गोली चलाउँदा इन्द्रमायाको देब्रे खुटामा छर्रा लागेको हो । उनलाई त्यो दिन तीनकुने क्षेत्रमा प्रदर्शन हुँदै छ भन्ने जानकारी भए पनि त्यसबारे कुनै चासो थिएन । सिभिल अस्पतालमा उपचार सकेर उनको सोमबार डिस्चार्ज भएको छ । उनका श्रीमान् गंगाबहादुर लिम्बू बिजुलीको काम गर्छन् । यो दम्पतीलाई महिनाभर काम गरेको पैसाले परिवार चलाउन पनि मुस्किल हुन्छ । गंगाले भने, ‘श्रीमतीको उपचार गर्न पनि पैसा नभएर सापटीमा चलाएको छु । हामी काम गरेर खाने निर्दोष मान्छेमाथि अन्याय भयो । हामी न्याय माग्न कहाँ जाने हो ?’ लिम्बू दम्पती १ छोरा र २ छोरीसहित बस्दै आएका छन् ।

...

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल काठमाडौंमा टिकट काउन्टरमा काम गर्थे । गत शुक्रबारको राजावादीको प्रदर्शनमा प्रहरीले चलाएको गोली पेटमा लागेका डिल्लीप्रसादको अवस्था अझै गम्भीर छ । अपरेसनपछि अहिले उनलाई ट्रमा सेन्टरमा नै राखिएको छ । 

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgeryडिल्लीप्रसाद लुइँटेल

डिल्लीप्रसाद कोटेश्वरमा रहेको बस काउन्टर बन्द भएपछि फुर्सदको समयमा राजावादीको प्रदर्शन हेर्न तीनकुने पुगेका थिए । आक्रोशित भीड र प्रहरीबीच झडप भएपछि प्रदर्शनकारीलाई तितरबितर बनाउन प्रहरीले गोली चलायो । साढे १ बजेतिर तीनकुनेमा डिल्लीप्रसाद गोली लागेर घाइते भए । अहिले ‘आईसीयू’ मा राखेर उपचार गराइरहेका उनको शुक्रबार साँझ आकस्मिक रूपमा ‘ल्याप्रोटोमी’ (पेटको आन्द्राको शल्यक्रिया) गरिएको थियो । उनलाई शनिबार बेलुका भेन्टिलेटेरबाट बाहिर निकालिए पनि आईसीयूमै राखेर उपचार भइरहेको हो । डिल्लीप्रसादको अवस्था सोमबार साँझसम्म स्थिर रहेको चिकित्सकले बताएका छन् । ‘आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा पेटमा गोली लागेर गम्भीर घाइते भए पनि उहाँ बोलिरहनुभएको थियो । तर, शरीरबाट धेरै रगत बगेका कारण हेमोग्लोबिन घटेर ९ मा झरेको थियो,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यसैले हामीले तत्काल शल्यक्रिया गरेर उहाँको गोली लागेर चोट पुगेको आन्द्राको उपचार गर्‍यौं । अहिले आईसीयूमै भए पनि अवस्था स्थिर छ ।’

यतिबेला उनलाई अस्पतालमा हेरचाह गर्न उनीसँगै काम गर्ने लेखनाथ घिमिरे बसेका छन् । ‘काठमाडौंमा उनको कोही छैन,’ लेखनाथले भने, ‘हामीले पनि उनलाई गोली लागेको साँझ मात्र थाहा पायौं । अपरेसनपछि भोलिपल्ट १० बजे मात्र उनको होस आएको हो ।’ होस आएपछि उनले साथीहरूलाई आफू आन्दोलन गर्न नभई रमिता हेर्न मात्र गएको बताएका थिए । लेखनाथका अनुसार डिल्लीप्रसादले परिवारको चिन्ता गरिरहन्थे, भाइबहिनीको पढाइ खर्च पुर्‍याउन लागिपरेका थिए । काठमाडौं बसेका डिल्लीप्रसादकै भरमा उनको गाउँमा परिवार चलेको छ । कतार गएर केही वर्ष दुःख गरेका उनी देश फर्किएपछि बस काउन्टरमा काम गर्न थालेका हुन् । 

यसअघि उनी इटहरी बस काउन्टरमा काम गर्थे, एक वर्षअघि मात्रै काठमाडौं आइपुगेका थिए । दाइलाई गोली लागेर घाइते भएको खबर पाएपछि शुक्रबार राति नै गाडी चढेका माइलो भाइ केदार भोलिपल्ट बिहान ९ बजे मात्र काठमाडौं आइपुगेका थिए । ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि घर हेर्ने हाम्रो अभिभावक दाजु नै हो,’ केदारले भने, ‘दाजुको कमाइमा नै हाम्रो घर, पढाइ खर्च र व्यवहार चल्दै आएको छ ।’ डिल्लीको परिवारमा तीन भाइ, एक बहिनी र बाबु छन् । अस्पतालमा उपचाररत उनको उपचार खर्च कसले गरिदिने हो भन्ने ठेगान छैन । ‘हामीसँग पैसा छैन, अहिले अस्पतालकै खातामा लेखेर उपचार भइरहेको छ,’ भाइ केदारले भने । अस्पतालबाहिर किन्नुपर्ने औषधि भने साथीहरूले किनिदिएर सहयोग गरिरहेका छन् । डिल्लीले टिकट काउन्टरको कामसँगै लोक सेवाको तयारी पनि गरिरहेका थिए । 

...

भोजपुरकै रामप्रसाद गाउँपालिका–१ खेनाका ३० वर्षीय शम्भु दर्जी वैदेशिक रोजगारीका लागि मंगलबार कतार जाँदै थिए । शम्भु वैदेशिक रोजगारीका लागि कतार उड्ने भनेर घरबाट बिदावारी भई काठमाडौंको गौरीघाटमा रहेकी दिदीको कोठामा आउँदै थिए । तर, एकाएक गोली लागेर ढले । उनलाई कुहिनोमा गोली लागेको छ ।

Rajawadi demolition: 18 still in hospital, 13 undergoing surgeryशम्भु दर्जी

‘तीनकुनेमा राजावादीले गरेको आन्दोलनका कारण गाडी कोटेश्वरबाट अघि बढ्न सकेन । हिँड्दै जान्छु भनेर आउँदै थिएँ, तीनकुने आइपुग्दा झडप भइरहेको थियो । प्रहरीले हानेको टियर ग्यासले मेरो आँखा पोल्यो, हिँड्नै सकिनँ,’ ट्रमा सेन्टरमा उपचाररत उनले भने, ‘चोककै साइडमा बसेर हेरिरहेका बेला कताबाट गोली आएर लाग्यो, थाहा नै भएन ।’ शम्भुको अवस्था अहिले सुधारोन्मुख छ । उनी क्यान्सरको बिरामी आमाको उपचारको बन्दोबस्त मिलाएर वैदेशिक रोजगारीका लागि कतार जाँदै थिए । ‘म पाँच वर्ष साउदी बसेर नेपाल आएको हुँ, कतारका लागि धेरै पैसा खर्च गरिसकें । अब के हुन्छ ? केही सोच्न सकेकै छैन,’ शम्भुले चिन्ता व्यक्त गरे ।

...

घाइतेको उपचार खर्च सरकारले बेहोरिदिने

राजावादीले गत शुक्रबार गरेको हिंसात्मक प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताए । नेपाल सरकार मन्त्रिपरिषद्को चैत १५ को बैठकले उपचार व्यवस्थापन निःशुल्क गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १ सय २९ जना घाइतेमध्ये १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । 

तीनकुनेमा गत शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएकाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी छ । प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५२ जना प्रदर्शनकारीसहित १ सय २९ जना घाइते भएका थिए । गम्भीर घाइतेमध्ये १ सशस्त्र प्रहरी र १७ प्रदर्शनकारीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये गोली लागेका दुई जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये धेरैजसोले आफूहरू राजावादी नभएको र प्रदर्शनमा पनि सहभागी नभएको बताए । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शान्ति, सुव्यवस्था कायम गर्ने विषयमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वराजाका समर्थकद्वारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रहरूमा भएको अराजक र हिंस्रक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवं सरकारी सम्पत्ति, अस्पताल, सवारीसाधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, तोडफोड एवं अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र भएको मानिसको ज्यान जाने गरी ढुंगामुढा, आगजनीजस्ता अमानवीय र गैरकानुनी कार्य गर्ने र लुटपाट गर्नेजस्ता कार्यको भर्त्सनासमेत गरेको थियो । सरकारले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकलाई बैठकमार्फत अपिलसमेत गरेको छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully