एमाले कार्यवाहक अध्यक्षमा पोखरेल

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Pokharel as acting president of UML

काठमाडौँ — एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक गएपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार पार्टी अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८) को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ । 

कान्तिपुर

Link copied successfully