सहकारी ठगीमा फरार छिन् सांसद गीता बस्नेत, संसद्‍मा पठाइन् स्वास्थ्योपचारका रहेको सूचना

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Member of Parliament Geeta Basnet is absconding in co-operative fraud, information about health care was sent to parliament

काठमाडौँ — राप्रपा सांसद गीता बस्नेत सहकारी ठगीमा फरार रहे पनि संसद्‍मा भने स्वास्थ्य उपचारमा रहेको सूचना पठाएकी छिन् । सभामुख देवराज घिमिरेले मंगलबार सांसद बस्नेत स्वास्थ्योपचारका रहेकाले अनुपस्थित रहेको सूचना सुनाएका हुन् । 

सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बसेका २७ वटा बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराएका थिए । अन्य सांसदसँगै बस्नेत संसद्‍मा अनुपस्थित रहेको सूचना पनि प्रतिनिधिसभाको आजको बैठकले पारित गरेको छ । सांसद बस्नेतले यसबीचको तलबभत्ता पनि बुझेकी छिन् । 

नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत भने संसद् अधिवेशन सुरु नहुँदैदेखि फरार रहेकी थिइन् । 

सांसद बस्नेतविरुद्ध गत १४ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।  सहकारीको पैसा बस्नेत सञ्चालक रहेको रिसोर्टमा लगेर दुरुपयोग गरिएकाले उनलाई प्रहरीको मागअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीको बचत हिनामिनामा मुछिएलगत्तै राप्रपाले भने सांसद बस्नेतविरुद्ध अनुसन्धान गर्न सरकारसँग माग गरेको थियो । 

नवलपरासीको छिपछिपे सहकारीमा २ हजार ३ सय बचतकर्ताको १६ करोड ५८ लाख हिनामिनाको हिसाब खोज्ने क्रममा बस्नेत सञ्चालक रहेको बर्दियाको रिसोर्टमा ९६ लाख ऋण लगानी गरेको खुलेको थियो ।

त्यस्तै चितवनको सनराइज सहकारीबाट रिमाल, ढुण्डीराज गौतम र कृष्ण ज्ञवालीका नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको छ । त्यस्तै बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully