काठमाडौँ — लेखक तथा पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको आइतबार साँझ निधन भएको हो । गत मंगलबार घरमै लडेर पक्षाघात भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।
पत्रकार किशोर श्रेष्ठका अनुसार उनको निधनमा सोमबार बिहान ११ बजे आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ ।
पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । लेखन र पत्रकारितामा समेत सक्रिय कोइराला दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।
२०७८ सालमा सर्वोच्च अदालतमा नै न्यायिक विचलन ल्याएको, न्यायको मूल्यमा सौदाबाजी गरेको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएसनले गरेको आन्दोलनमा कोइराला सक्रिय रूपमा सहभागी थिए ।
२०३४ सालको पहिलो कानुन व्यवसायी सम्मेलनमा सहभागी भएका, ललितपुर बारका सदस्यसमेत रहेका कोइराला वरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीसँगै बार एसोसिएसन पुगेर हातमा कालोपट्टी बाँधेर आन्दोलनमा सहभागी भएका थिए । ‘म न्यायाधीश र कानुन व्यवसायीलाई साथ दिन आएको हुँ । उहाँहरूले एउटा राम्रो लडाइँ सुरु गर्नुभएको छ । त्यसमा साथ दिनु मेरो कर्तव्य हो । कानुन व्यवसायीका रूपमा होस्, पत्रकारका रूपमा होस् कि नागरिकका रूपमा होस् । त्यो कर्तव्यको निर्वाह गरें,’ उनले कान्तिपुरसँग भनेका थिए ।
