तीनकुने घटना : पत्रकार महासंघले दियो सरकारलाई ७ दिने अल्टिमेटम

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Tinkune Incident: The Federation of Journalists gave a 7-day ultimatum to the government

काठमाडौँ — तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हमलाविरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पुर्‍याइएका संचार गृहलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पुर्‍याइएका र हराएका सञ्चार उपकरणको क्षतिपूर्ति तथा सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकारविरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ ।

ध्यानाकर्षण पत्रमा आगोमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरी दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पुर्‍याइएका अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र घाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ ।

यस्तै विगतदेखिकै प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूलाई कानुनी कारबाही र सञ्चार गृह तथा सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन महासंघले माग गरेको छ । ती मागको यथोचित सम्बोधन नभए महासंघ सरकारविरुद्ध आन्दोलित हुने महासचिव दाहालले बताए ।

गृहमन्त्री लेखकलाई महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो । आचार्यले महासंघका माग सम्बोधन गर्न अनुरोध गरेका छन् भने गृहमन्त्री लेखकले मागप्रति सरकार गम्भीर रहेकाले आवश्यक परामर्शपछि निर्णय लिइने जानकारी गराए । यसैगरी महासंघको टोलीले मारिएका पत्रकार रजकको परिवार र आफन्तसँग भेटी छलफल गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully