लेखक तथा पूर्वकूटनीतिज्ञ कोइरालालाई श्रद्धाञ्जली दिन एस कार्यालय पुगे प्रधानमन्त्री

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

The Prime Minister went to S office to pay tribute to writer and former diplomat Koirala

काठमाडौँ — लेखक तथा पूर्वराजदूत कमल कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर उनले श्रद्धाञ्जली दिएका हुन् ।साथै ओलीले गत शुक्रबार राजावादी आन्दोलनका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेकाे कार्यालयको अवलोकन पनि गरे । 

कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, पूर्वराजदूत टंक कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिए । 

अध्यक्ष नेपालले मुलुकको राजनीतिक, पत्रकारिता, कूटनीतिकलगायत क्षेत्रमा अनुभवी नेता कोइराला निष्ठावान् आदर्श व्यक्तित्व भएको बताउँदै उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए ।

कोइराला वरिष्ठ लेखक र स्तम्भकार, पूर्वसांसद तथा राजदूतसमेत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ८७ वर्षीय कोइरालाको आइतबार साँझ निधन भएको हो । गत मंगलबार घरमै लडेर पक्षाघात भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully