कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

The government made a mistake by removing Kulman Ghising: Congress General Minister Sharma

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए। उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए? भन्ने प्रश्न पनि गरे। उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने धारणा व्यक्त गरे।

शर्माले भने, 'सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी सत्तारूढ पक्षबाटै बोल्दै छौँ— सरकारले उनलाई हटाएर गल्ती गरेको छ। तर, यो विषय अदालतमा विचाराधीन भइसकेको छ। यस्तो अवस्थामा प्रतिपक्षीले समय किन माग्यो? सभामुखले समय किन दिनुभयो? प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा जवाफ किन दिनुभयो?'

उनले लोकतान्त्रिक प्रणालीमा नागरिकले अदालतको फैसला सर्वोपरि ठान्ने बताउँदै अदालतको निर्णय नै स्वीकार्य उल्लेख गरे । शर्माले फरक प्रसङ्गमा बोल्दै तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा भएको धनजन क्षतिप्रति सबैलाई दुःख लागेको भए पनि निर्मल निवासलाई नदुखेको भन्दै टिप्पणी गरे।

उनले भने, 'कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। जनतामा रहेका निराशा लोकतान्त्रिक प्रणालीभित्रै समाधान गर्दै जानुपर्छ।'

कान्तिपुर

Link copied successfully