अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधिसभालाई दिइयो जानकारी

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Ordinance Replacement Bill passed by the National Assembly, information given to the House of Representatives

काठमाडौँ — अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका पाँचवटा विधेयक राष्ट्रिय सभाबाट पारित भएका छन् । कुनै संशोधन नगरी विधेयक पारित भएका हुन् । विधेयक पारित भएको जानकारी प्रतिनिधिसभालाई गराइएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकबाट अध्यादेश प्रतिस्थापन गर्ने पाँचवटा विधेयक बहुमतले पारित भएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए । राष्ट्रिय सभाबाट सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,  निजीकरण (पहिलो संशोधन) विधेयक  र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका हुन् ।

राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार र संशोधनमाथि छलफल भएको थियो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्दै चैत १३ देखि संसद् अवरुद्ध गर्दै आएका थिए । प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै भएको अवरोध सोमबार अन्त्य भएको हो । ती अध्यादेश प्रतिस्थापन विधेयक सोमबार राति १२ बजेभित्र प्रमाणीकरण भइसक्नुपर्ने अवस्था थियो । संविधानको व्यवस्थाअनुसार अध्यादेश जारी भएपछिको संघीय संसद्को बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभएमा स्वतः निष्कृय हुने व्यवस्था रहेको छ ।

राष्ट्रिय सभाले अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेको सन्देशबारे प्रतिनिधिसभामा जानकारी गराइएको छ । प्रतिनिधिसभा सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका थिए । प्रतिनिधिसभाको दोस्रो बैठकमा उक्त जानकारी गराइएको थियो ।    

कान्तिपुर

Link copied successfully