संसद्‍‍मा गणतन्त्रको विरोध गर्ने कुरा संविधानसम्मत हुँदैन : प्रधानमन्त्री ओली

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Opposing the Republic in the Parliament is not in accordance with the Constitution: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍‌भित्र गणतान्त्रिक प्रणाली र संघीय लोकतन्त्रको विरोध गर्ने विषय स्वीकार्य नभएको बताएका छन् । सोमबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएका हिंसात्मक क्रियाकलापको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको दोहोर्‍याएका हुन् ।

उनले राप्रपा सासंदहरूले प्रतिनिधिसभामा राजतन्त्रको पक्षपोषण गरेकोमा समेत असन्तुष्टि जनाए । प्रधानमन्त्रीले ओलीले सोमबार नै प्रतिनिधिसभामा पनि सार्वजनिक महत्त्वका विषयमा बोलेका थिए । त्यस क्रममा चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।

त्यसपछि राष्ट्रिय सभामा बोल्न आएका ओली खनिएका थिए । ‘सांसद भएपछि कहिले आफैं मन्त्री र उपप्रधानमन्त्री भएर संविधान मान्छु भनर ईश्वरका नाममा, देश र जनताका नाममा शपथ लिएर गरेको प्रतीज्ञा, खाएको कसमको पालना गर्नु पर्दैन ?,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यो संविधानप्रति बफादार छु, यो संविधान पालना गर्छु भन्ने सपथको पालना गर्नुपर्दैन ? कि त्यो एउटा तमासा मात्रै हो ? कि त्यो छद्म अवसरको खोजी मात्रै हो ?’ संसद् संविधानको विरोध गर्ने थलो नभएको समेत उनले बताए ।

संविधानसभा जसले राजतन्त्रलाई बिदा गर्‍यो, त्यही संसदमा फेरि राजतन्त्र ब्युँताउने कुरा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरोध गर्ने कुरा, संघीय लोकतन्त्रकको विरोध गर्ने कुरा संविधानसम्मत हुँदैन,’ उनले भने, ‘असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद् हुन सक्दैन, म स्पष्ट पार्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले संसद्ले नै गणतन्त्रको घोषणा र राजतन्त्रको बिदा गरेको भन्दै यही संसद्‍मा आएर राजतन्त्र ब्युँताउँछु भन्नु सही नभएको दाबी गरे । उनले भने, ‘गरिमामय संसद्‍मा आएर फेरि राजतन्त्रलाई ब्युँताउँछु भन्ने कुरा, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरोध गर्ने कुरा, संघीय लोकतन्त्रको विरोध गर्ने कुरा, गणतन्त्रको विरोध गर्ने कुरा यो संसद्‍मा संविधानसम्मत हुँदैन र असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद् हुन सक्दैन, म स्पष्ट पार्न चाहन्छु ।’

कान्तिपुर संवाददाता

Link copied successfully