काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा विपक्षीहरूले गरेको अवरोध संविधान र कानुनविपरीत भएको बताएका छन्।
उनले प्रधानमन्त्री वा कोही पनि सदस्यले सभामुखको अनुमतिले बोलिरहेका बेला अर्को सांसदले अवरोध गर्न नपाइने व्यवस्था नियमावलीमा रहेको भन्दै आपत्ति जनाए।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदहरूले उठेर अवरोध जनाएका थिए भने प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीका अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
मुख्य सचेतक बर्तौलाले वर्तमान संविधानले कसैलाई पनि कसैको हत्या गर्न र लुटपाट गर्न नदिने दाबी गरे । 'संविधानले लोकतान्त्रिक अधिकार दिएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार दिएको छ,' उनले भने, 'तर कसैलाई पनि कसैमाथि नियोजित आक्रमण गर्ने, लुटपाट गर्ने हक दिएको छैन। मिडियामा गएर आगजनी गर्ने र ढुंगा हान्ने हक कसैलाई छैन।'
उनले संविधानविपरीत कार्य गर्नेलाई कारबाही हुनुपर्ने बताए।
