पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्न : प्रधानमन्त्री

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Former King Gyanendra Shah will not get immunity: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उन्मुक्ति नदिइने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता रहेको उल्लेख गरे।

उनले जुनसुकै आवरणमा भए पनि हिंस्रक आन्दोलन गर्ने जो-कोहीलाई कानूनी दायरामा ल्याइने दाबी गरे।

प्रधानमन्त्री ओलीले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरेर भीड उक्साएको आरोप लगाए। उनले 'व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले श्रृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन?' भन्दै प्रश्न गरे।

उनले भने, 'पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भीड उक्साउने काम गरे। पूर्वराजा शाहले उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?'

प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर विरोध जनाएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully