भीमनारायण गोल्डकपमा ब्वाइज क्लब र गाईघाट भिड्दै

चैत्र १८, २०८१

रमेशचन्द्र अधिकारी

Boys Club vs Gaighat in Bhimnarayan Gold Cup

धनकुटा — सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको आज (सोमबार)अपराह्न हुने खेल ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच हुँदै छ ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि प्रतियोगिता जारी छ । धनकुटा बजारको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक टिमसहित नमोबुद्ध युथ फुटबल क्लब, चित्लाङ फुटबल क्लब काठमाडौं, विर्तामोड युनाइटेड झापा, ब्वाइज फुटबल क्लब इटहरी, गाईघाट फुटबल क्लब उदयपुर, बेलबारी फुटबल क्लब मोरङ तथा विभागीय टिम एपीएफ क्लब काठमाडौं रहेका छन् । 

पहिलो दिनको खेलबाट आयोजक सहिद भीमनारायण स्मृति धनकुटा भने प्रतियोगिताबाट बाहिरी सकेको छ । पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जीत हात पार्दै स्थान सुरक्षित पारेको छ । आज अपराह्न चार बजेदेखि खेल सञ्चालन हुने आयोजकले जनाएको छ । 

विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरिसकेको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully