सिस्नेरीमा डुबेर ३ बालकको मृत्यु : परीक्षा सकेर मामाघर घुम्न आएका थिए

चैत्र १८, २०८१

सुवास विडारी

3 children died after drowning in Sisneri: He came to visit Mamaghar after exams

मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरीस्थित मामाघरमा आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालक गरी ३ जनाको सिस्नेरी बजार पछाडिको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब साढे ४ बजे उनीहरूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

इन्द्रसरोवर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घोरासैनी दाजुभाइ हुन् भने आचार्य मामाका छोरा भएको प्रहरीले जनाएको छ । उनीहरू सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएका थिए ।

गत असोजमा कुलेखानी जलाशयको ड्यामको ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । बिदाका क्रममा मामाघर आएका घोरासैनी दाजुभाइको मामाको छोरासँगै मृत्यु भएको हो ।

कुलेखानी ड्यामको पानीको बिगारेको बाटो र खोलाका कारण धेरैले ज्यान गुमाउन बाध्य भइरहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए । मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully