काठमाडौँ — चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीको प्रदर्शनबाट भएका घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिए । त्यस्तै समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
यस्तो छ समितिको निर्देशन
२०८१ चैत्र १५ गते शुक्रबारका दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुई जना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरु घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारी साधनलगायतका सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ ।
सो दिनको अराजक गतिविधिबाट ज्यान गुमाउनुभएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै सुरक्षाकर्मी लगायतका सम्पूर्ण घाइते व्यक्तिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै निजहरूको उपचारको प्रभावकारी प्रबन्ध गर्न समेत समिति नेपाल सरकारलाई निर्देशन गर्दछ । सो दिनको अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पत्तिमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ ।
