पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको विरोधमा कान्तिपुरका पत्रकारले बाँधे कालोपट्टी 

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Journalists of Kantipur tied a black belt in protest against the killing of journalists and the attack on media houses

काठमाडौँ — राजतन्त्र पक्षधरले शुक्रबार गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर मिडिया ग्रुपलगायतका सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा आइतबार कान्तिपुरका पत्रकारले कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् ।

नेपाल पत्रकार महासंघले अघि सारेको आन्दोलनको कार्यतालिका अनुसार थापाथलीस्थित कान्तिपुरको मुख्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।

शुक्रबारको घटनाको छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले देशभरका सबै सञ्चारकर्मी, केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै, पत्रकार सुरेश रजक सम्बद्ध सञ्चार गृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति पनि गठन गरेको छ । महासंघले अवस्थाको विश्लेषणपछि आन्दोलनका थप कार्यक्रम तय गरिने जनाएको छ ।

राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा महासंघले शनिबार देशव्यापी विरोध पनि प्रदर्शन गरेको थियो ।

कान्तिपुर

Link copied successfully