काठमाडौँ — राजावादीको नाममा शुक्रबार तीनकुने, कोटेश्वर, जडीबुटी, बालकुमारीलगायतका क्षेत्रमा भएका लुटपाट, तोडफोड र आगजनीको घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले बताएकी छन् ।
शुक्रबार राजावादीले एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए भने अध्यक्ष माधवकुमार नेपालको घरमा ढुंगामुढा हानेका थिए । राजावादीले तीनकुनेको एक घरमा आगो लगाउँदा त्यहाँभित्र रहेका पत्रकार मारिएका थिए । अर्का एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
राजसंस्था फर्काउने र ज्ञानेन्द्र शाहलाई राजा बनाउने भनी आयोजना गरिएको प्रदर्शनमा व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा राजावादीले आगो लगाएका थिए भने दर्जनौं सरकारी र निजी सवारीसाधन जलाएका थिए । कोटेश्वरमा रहेका भाटभटेनीमा तोडफोड र लुटपाट मच्चाएका थिए ।
यी सबै क्रियाकलापको जिम्मेवार पूर्वाराजा ज्ञानेन्द्र शाह भएको एकीकृत समाजवादीकी नेता झाँक्रीले बताएकी हुन् । 'सार्वजनिक, निजी सम्पत्तिको आगजनी र तोडफोड, व्यक्तिलाई चाबी लगाएर जलाएको दृश्यले झनै बेचैन बनायो । यो पूरै घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेद्र हुन,' झाँक्रीले भनेकी छन्, 'नजानिँदो ढंगबाट जनतालाई उचालेर संविधान मास्ने र फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेष्टा गर्दैछन ।'
अस्थिरतामा रमाउने शक्तिलाई खुसी पार्नका लागि र आफ्नो ध्येय पूरा गर्न पूर्वराजा लागिरहेको भन्दै झाँक्रीले सरकारले नियन्त्रण गर्नुपर्ने माग गरिन् । 'सरकार पूर्वराजाका गतिविधि माथि तुरून्त रोक लगाउ । जति पनि निजी र सार्वजनिक सम्पत्तिको विनास गरेका छन राजावादीले, त्यसको क्षतिपूर्ति पहिचान भएका अगुवा व्यक्ति र राजा ज्ञानेन्द्रको सम्पत्तिबाट दिने व्यवस्था गर ।'
मुलुकले फेरि हिंसा र आतंक थेग्न नसक्ने भन्दै झाँक्रीले पूर्वराजामाथि प्रतिबन्ध लगाउन माग गरेकी हुन् । 'आतंक मच्चाउने व्यक्तिगत र सार्वजनिक सम्पत्ति नास गर्ने, घर भित्र थुनेर आगो झोस्ने सबै सबै अपराधीहरूलाई हदै सम्मको कारबाही होस् सरकार,' उनको माग छ ।
