सुरेश र सविनलाई पर्खिरहेको परिवार

एमसीसीविरुद्धको आन्दोलनका बेला रिपोर्टिङ गर्दा सुरेश घाइते भएका थिए, यसपालि राजावादीको प्रदर्शनमा आगजनीमा परी ज्यान गुमाए

चैत्र १७, २०८१

नुमा थाम्सुहाङ, समर्पण श्री

Family waiting for Suresh and Savin

काठमाडौँ — बिहान चन्द्रागिरिस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजक (३४ वर्ष) को घरमा भोजको तयारी थियो । उनले माइलो दाजु दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनू ।’

तीन भाइमध्ये सुरेश र दिनेश तीन महिनादेखि नयाँ घर चन्द्रागिरिमा बस्दै आएका थिए । 

दिनेश र सुरेश दुवै पत्रकारिता गर्थे । त्यो दिन जेठो दाइ र आफन्तलाई उनीहरूले भोजमा डाकेर दुवै राजावादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङमा निस्किए । घरमा आफन्तहरूको उपस्थितिले रमझम बढिरहेको थियो । ‘चाँडो आउँछु भनेर निस्केको थियो भाइ, अब कहिल्यै नफर्किने भयो,’ दाजु दिनेश भक्कानिँदै भन्छन् ।

शुक्रबार राजावादीहरूले काठमाडौंको तीनकुनेमा केन्द्रित गरेको प्रदर्शनमा उनीहरूले एक भवनमा आगजनी गरे । एभिन्युज टेलिभिजनका भिडियो जर्नालिस्ट सुरेश त्यही दृश्य खिचिरहेका थिए । आगोमा परी उनले ज्यान गुमाए ।

सुरेश पत्रकारितामा आउनुअघि वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए । ‘भाइ उतै हुँदा आमा बित्नुभयो अनि ऊ फर्किएर नेपाल आयो । त्यसपछि विदेश नगई पत्रकारिता सुरु गर्‍यो,’ दिनेश भन्छन् ।

आफन्तलाई भोजको निम्तो गरेर सुरेश रिपोर्टिङ गर्न तीनकुने पुगेका थिए, घरमा रमझम चलिरहेका बेला आगजनीमा परे

शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । ‘हामीले खाना बाहिर खायौं । तीनकुनेको एउटा कलेजमा बाइक पार्किङ गरेर फिल्डमा गएका थियौं,’ अनिल भन्छन् ।

उनका अनुसार सुरेश र अनिल त्यहाँ पुग्दा राजावादी प्रदर्शनकारी भर्खर भेला हुँदै थिए । ३० मिनेटजति रिपोर्टिङ गरेर उनीहरू साथीहरूसँग चिया पिउन नजिकैको गल्लीभित्र गए । प्रदर्शनकारीले प्रदर्शन गरिरहेका बेला प्रहरीले अश्रुग्यास फाल्यो भन्ने खबर पाए । ‘गल्लीबाट निस्कँदै प्रदर्शनकारीले माथिबाट प्रहरीले अश्रुग्यास फाल्यो भनेर ढुंगामुढा गर्ने प्रयत्न गर्दै थिए । सडकमा निस्किएपछि हामीलाई अश्रुग्यासले उकुसमुकुस बनायो । दाइले प्रहरीको समूहमा छिर्छु भनेर मलाई क्यामेरा थमाइदिनुभयो । अनि अगाडि जानुभयो । दाइले मोबाइलबाट लाइभ गर्नुभयो,’ अनिल सुनाउँछन्, ‘केहीबेरपछि फेरि दाइ र म पहिल्यैको चिया पसलमा भेट्यौं ।’

त्यहीबेला गल्लीबाट एक्कासि प्रदर्शनकारीले भवनतिर आक्रमण गर्न थालेको भेउ पाए उनीहरूले । उनीहरू भवनको अगाडिपट्टि दृश्य खिच्दै पुगे । अचानक भीड बढ्यो र उत्तेजित भयो । भवन प्रवेश गर्ने सटरको चाबी तोडेर प्रदर्शनकारी भित्र छिर्न थाले । ‘त्यसपछि दाइ बुम मलाई थमाइदिएर स्वाट्टै छिर्नुभयो । मैले केही भन्नै पाइनँ । दाइ दोस्रो तलामा बसेर खिच्नुभएको हेरिरहेको थिएँ । ढुंगामुढा चलिरहेको थियो । त्यहीबेला प्रदर्शनकारीले आगो लगाउनुपर्छ भनिरहेका थिए,’ अनिल भन्छन्, ‘सामान माथिबाट झारिरहेका थिए । फेरि अश्रुग्यास प्रहार गरियो । म पनि एकतिर भएँ । प्रदर्शनकारी तितरवितर भए ।’

प्रदर्शनकारीले आगो बाल्न लागेको अनिलले देखे । त्यतिबेला सुरेश तेस्रो तलामा रहेर दृश्य कैद गरिरहेको देखेपछि उनले इसारा गरे, तर सुरेशले देखेनन् । फोन गरे, उठाएनन् । ‘त्यसपछि एमसीआरमा फोन गरें । हल्लाखल्ला मच्चियो । माथि गएका मान्छे झर्न थाले । दाइ आउनुहुन्छ होला भनेर हेरें तर आउनुभएन । सम्पर्क नै हुन सकेन,’ अनिल भन्छन् ।

अनिल आत्तिएर ढुंगामुढाको सामना गर्दै प्रहरीसमक्ष पुगे । तर प्रहरीहरूले आफ्नो गुहार नसुनेको अनिलको गुनासो छ । १० मिनेटपछि दमकल त आयो तर प्रदर्शनकारीको ढुंगा प्रहारबाट दमकलको सिसा फुट्यो । आगो निभाउन सकेन । ‘त्यसपछि प्रहरीलाई गुहार मागें । फेरि पनि गुहार सुनेनन् । दमकल बोलाउन लगाउँदा उनीहरूले ढुंगामुढा हुन्छ भन्दै टारे,’ अनिल भन्छन्, ‘मान्छे भित्र हराइरहेको छ तर प्रहरी प्रशासनको त्यस्तो जवाफ आयो । मैले घुँडा टेकेर प्रदर्शनकारी र प्रहरीलाई ढोग्न थालें ।’

पछि दमकल आएर आगो निभायो । सशस्त्र प्रहरीका तीन प्रहरी भित्र गए । उनीहरूले मान्छे क्षति नभएको भन्दै ढुक्क हुनु भने । ‘त्यसपछि दाइलाई अस्पताललगायत विभिन्न ठाउँमा खोज्यौं, भेटेनौं । फेरि आगो बल्न थाल्यो भवनमा । पछि आगो निभाएर माथि जाँदा दाइको जलेको शव थियो,’ उनी सुनाउँछन् ।

सुरेशका दाइ दिनेशले रिपोर्टिङका क्रममा भाइ भवनभित्र फसेको पछि थाहा पाए । ‘उसलाई नियोजित रूपमा मारे । बचाउन सकिन्थ्यो । तर प्रहरीको लापरबाहीले ज्यान गुमायो,’ दिनेश भन्छन् । सुरेशको परिवारले उनलाई सहिद घोषणा गर्न, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेको छ ।

सुरेशका सहकर्मी र पूर्वसहकर्मीका अनुसार उनी निडर र इमानदार थिए । सुरेशले माउन्टेन टेलिभिजनबाट ७ वर्षअघि पत्रकारिता सुरु गरेका थिए । ‘त्यतिबेला सुरुमा उहाँलाई तालिम हामीले नै दिएका थियौं,’ माउन्टेन टेलिभिजनमा सँगै काम गरेका सुरेशका पूर्वसहकर्मी डीबी मगर भन्छन्, ‘त्यतिबेलादेखि नै उहाँ आँटिलो हुनुहुन्थ्यो । जोखिम मोलेर काम गर्न रुचाउनुहुन्थ्यो ।’

डीबीका अनुसार एमसीसीविरुद्ध भएको आन्दोलनका बेला रिपोर्टिङ गर्दा पनि सुरेश घाइते भएका थिए । केही महिना माउन्टेनमा काम गरेर उनी एभिन्युज टेलिभिजन गएका थिए । 

दाइ दिनेशका अनुसार उनी आफ्नो काममा सधैं इमानदार र दत्तचित्त रहन्थे । ‘ऊ अफिस समयभन्दा जहिल्यै अगाडि पुग्थ्यो । काममा कहिल्यै बिदा लिएर बसेको थाहा छैन । उसलाई जोखिम मोलेर काम गर्न साह्रै इच्छा लाग्थ्यो,’ दिनेश भन्छन् ।

सुरेशले ८ वर्षअघि बिहे गरेका थिए । भाइ गुमाएपछि आहत भइरहेका दिनेश आफू र परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्तामा छन् । भक्कानिँदै भन्छन्, ‘यस्तो बेलामा कसरी मन बुझाऊँ ?’

...

कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जन काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउँथे । शुक्रबार बिहान १० बजेतिर उनी बल्खुमा गाडी बनाउन भनेर घरबाट बाइकमा निस्किएका थिए । पत्नी भविषाले दिउँसो २ बजे सविनलाई फोन गरिन् तर उठेन । फेरि साढे ४ बजेपछि फोन गरिन्, फोन उठ्यो तर त्यतिबेला उनको होस उड्यो । ‘फोन पुलिसले उठायो,’ भविषाले सुनाइन्, ‘तपाईंको मानिस सिरियस छ, भेट्न आउनू भन्यो ।’ 

प्रहरीले बोलाएको त्रिवि शिक्षण अस्पतालमा भविषा पुग्दा सविनको मृत्यु घोषणा भइसकेको थियो । तीनकुनेमा राजावादीको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली सविनलाई लागेको भविषाले त्यहीँ थाहा पाइन् । घरबाट गाडी बनाउन निस्केका पति कसरी तीनकुने पुगे भन्ने उनलाई पत्तो छैन । सविनका काका किरणले पनि उनी आन्दोलनमा कसरी गए भन्ने थाहा नभएको बताए । 

प्रहरीका अनुसार तीनकुने र कोटेश्वरको बीचमा सविनलाई गोली लागेको थियो । प्रर्दशनकारीले कोटेश्वर क्षेत्रमा रहेका प्रहरी इकाइ कार्यालयहरूमा एकसाथ ढुंगामुढा र आगजनी गरिएपछि आत्मरक्षाका लागि गोली चलाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता उपरीक्षक अपिलराज बोहराको भनाइ छ । ‘कम संख्यामा रहेका सुरक्षाकर्मीलाई ज्यान जोगाउनै मुस्किल परेको थियो । आफ्नो रक्षाका लागि गोली चलाउँदा सविनलाई गोली लाग्यो,’ उनले भने । सविनको दाहिने छातीमा गोली लागेको थियो । 

१० वर्षदेखि गाडी चलाउँदै आएका कीर्तिपुरका सविन महर्जन यसअघि राजनीतिक कार्यक्रममा सहभागी हुने गरेका थिएनन्

सविन सानैदेखि ड्राइभर बन्न चाहन्थे । कक्षा ८ पुगेपछि उनले पढाइ छाडेर पानीट्यांकर चलाउन थालेका थिए । उनी ड्राइभर भएको १० वर्ष नाघिसकेको थियो । चिनजान भएको एक वर्षमै भविषासँग उनको बिहे भएको थियो । २८ वर्षीया पत्नी भविषा र ८ वर्षीया छोरी सुविषासहितको तीन सदस्यीय सुखी परिवार थियो । शुक्रबारको घटनापछि परिवारको मूल खम्बा नै उखेलिएको छ । ‘उहाँ घुम्न र नयाँ कुरा गर्न मन पराउने मान्छे हो । के गर्नु, सपना मात्र देखाएर जानुभयो,’ भक्कानिँदै भविषाले भनिन् । पति गुमाएकी भविषालाई सम्हाल्न माइतबाट बुवा र बहिनी आएका छन् । 

सविनको खबर सुन्नासाथ ७५ वर्षीया हजुरआमालाई स्वास्थ्य समस्या भयो । उनी मुटुरोगी हुन् । उनलाई शुक्रबार नै कीर्तिपुरको काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको छ । सविनकी काकी रीताले भनिन्, ‘उहाँलाई गाह्रो भयो, गंगालाल लान खोजेका थियौं । एम्बुलेन्स पनि जलाइदिन्छन् भन्ने सुन्यौं, डरले कीर्तिपुरमै भर्ना गर्‍यौं ।’ 

गाम्चामा ११ जनाको चार परिवार एउटै छानामुनि बस्छन् । भान्सा भने छुट्टाछुट्टै छ । सविनको परिवारमा भने कमाउने मान्छे उनी मात्रै हुन् । उनी कुनै राजनीतिक कार्यक्रममा सहभागी हुने गरेका थिएनन् । कीर्तिपुर–४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि सविन र उनको परिवारको यसअघि राजनीतिक संलग्नता नदेखिएको बताउँछन् । ‘नहुने घटना भइगयो,’ उनले भने, ‘परिवारका लागि केही गर्न सकिन्छ कि भनेर आइतबार बैठक बस्दै छौं ।’ 

सविनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छ । परिवार र आफन्तले सविनको मृत्युको जिम्मा राज्यले नलिएसम्म शव नबुझ्ने अडान राखेका छन् । ‘सरकारले चलाएको गोलीले ज्यान गयो, अब हाम्रो बाटो पनि सरकारले नै खोजिदिनुपर्‍यो,’ भविषाले भनिन् । 

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully