काठमाडौँ — राजावादीले शुक्रबार तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा पत्रकारको ज्यान लिएको, सञ्चारगृह, व्यापारिक कम्प्लेक्स, निजी घरमा ढुंगामुढा, आगजनी र लुटपाट गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् । संविधानले दिएको हकको दुरुपयोग गर्दै राजावादी हिंसात्मक गतिविधिमा उत्रिएको उनीहरूले जनाएका छन् ।
प्रदर्शनकारीले सञ्चारगृहमा तोडफोड र आगजनी गरेकामो पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका क्रममा एभिन्युज टीभीका पत्रकार सुरेश रजकको मृत्यु भएको, कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा गर्दै आगजनीको प्रयास गरिएकामा महासंघले भर्त्सना गरेको हो । ‘आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन,’ महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्ता हर्कतमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन महासंघको माग छ ।
महासंघले सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गर्दै लोकतन्त्र र प्रेसविरोधी क्रियाकलाप नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महासंघले शनिबार देशभर विरोध प्रदर्शन गरेको छ । माइतीघरमा भएको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।
पत्रकार हत्या, सञ्चारगृहमाथि आक्रमणका विषयमा अध्ययन गर्न महासंघ उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा कार्यदल बनाइएको छ । महासंघले घटनाको विरोधमा आइतबार कालोपट्टी बाँधेर काम गर्न पत्रकारलाई आह्वान गरेको छ ।
संसदीय मामिला पत्रकार समाजले पनि पत्रकार रजकको हत्या, तस्बिर खिचेको आरोपमा पत्रकार दिनेश गौतममाथि आक्रमण, कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा आक्रमण तथा हिमालय टीभीको सवारीसाधनमा क्षति पुर्याएकोप्रति समाजले निन्दा गरेको छ । फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार समूहले शुक्रबार नै घटनाको भर्त्सना गरेका छन् ।
उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले पनि घटनाको निन्दा गरेका छन् । महासंघले विज्ञप्तिमा भनेको छ, ‘हिंसक प्रदर्शनका साथै लुटपाट, आगजनी र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय छ । यस्ता घटनाप्रति महासंघ घोर निन्दा र भर्त्सना गर्छ ।’
त्यस्तै, परिसंघले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । ‘तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ,’ परिसंघले विज्ञप्तिमा भनेको छ । सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघको माग छ । नेपाल उद्योग तथा व्यवसाय महासंघले पनि शुक्रबारको घटना उद्योगी–व्यवसायी र जनतालाई आर्थिक रूपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भनी टिप्पणी गरेको छ ।
उक्त घटनाको नेपाल बार एसोसिएसनले पनि आपत्ति जनाएको छ । बारले निजी सम्पत्तिको क्षतिप्रति राज्य र प्रदर्शनको आयोजक जिम्मेवार बन्नुपर्ने भनेको छ । गैरसरकारी संस्था महासंघले राजावादीले गरेको हिंसा, लुटपाट तथा सार्वजनिक सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस्ता गतिविधिमा रोक लगाउन माग गरेको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिसम्बद्घ १२ वटा दलित संघ/संगठनका तर्फबाट शनिबार जारी विज्ञप्तिमा राजतन्त्रको पक्षमा देखिएका अराजक र प्रतिगामी गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘लोकतन्त्रविरोधी राजावादीले गरेको प्रदर्शनका क्रममा सञ्चारगृहमा गरेको तोडफोड र आगजनी प्रयासको निन्दा गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । यस घटनाका मूल दोषीलाई कारबाही गर्न समाजले माग गरेको छ ।
