श्रीमती मारेर खाल्डाेमा गाडे, प्रहरीमा हराएको निवेदन दिए

एक्स्काभेटर चालक उमेशले पत्नी बिमलालाई घुम्न जाऔं भनेर धार्नेखोप पुर्‍याएका रहेछन् । त्यही बेला उनले मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर गाडेको अनुसन्धानमा देखियो ।

चैत्र १७, २०८१

लक्ष्मी गौतम

He killed his wife and buried her in a ditch, filed a missing report with the police

पाँचथर — इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोक (सल्लेरी) का २० वर्षीय उमेश गिरी चैत १ गते निवेदन लिएर प्रहरी चौकी आमचोक पुगे । उनको निवेदनमा १९ वर्षीया पत्नी बिमला कट्टेल हराएकाले खोजी गरी पाउँ भनेर लेखिएको थियो । गर्भवती अवस्थामा रहेकी श्रीमती हराएको निवेदन लिएर आएका उमेशसँग सामान्य सोधपुछ गरेर प्रहरीले बिमलाको खोजीका लागि विशेष टोली बनायो ।

खोजतलास गर्दै जाँदा चैत १५ गते बिहान १ बजे प्रहरीले घरदेखि डेढ घन्टाको पैदल दूरीमा शव भेटियो । बिमलाको शवलाई गोलाई (धार्नेखोप) स्थित कच्ची सडकको माझमा करिब ५ फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्था भेटियो । उनको हत्या कसले गर्यो भन्ने अनुसन्धानको निष्कर्षमा जब प्रहरी पुग्यो तब उनिहरु नै चकित परे । जिल्ला प्रहरी इलामका प्रमुख एसपी एकनारायण कोइरालाले भने, ‘गर्भवती अवस्थाकी बिमलालाई गाड्ने अरु कोही नभएर उनकै पति उमेश गिरी रहेछन् ।’

एक्स्काभेटर चालक उमेशले पत्नी बिमलालाई घुम्न जाऔं भनेर धार्नेखोप पुर्याएका रहेछन् । त्यही बेला उनले मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर गाडेको अनुसन्धानमा देखियो । चैत १२ मा नै प्रहरीदे उमेशलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । एसपी कोईरालाले भने, ‘सोधपुछका क्रममा आफैले मारेर बीच सडकमा गाडेको बताएपछि उनलाई सँगै लगेर खोतल्दा शव भेटियो ।’ 

बिमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको जनाएको छ । एसपी कोइरालाले भने, ‘अहिलेसम्मको अनुसन्धानमा झगडाको मुल कारण विवाहेत्तर सम्बन्ध भएको देखिएको छ ।’ प्रहरीले बिमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully