अनुसन्धानका लागि ७१ जना हिरासतमा

व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, चोरी/डकैती, लुटपाट, आगजनी वा राजद्रोहमा मुद्दा चलाउने गरी प्रहरीले थाल्यो अनुसन्धान

चैत्र १७, २०८१

विवेक पोख्रेल

71 people detained for investigation

काठमाडौँ — राजावादीद्वारा शुक्रबार गरिएको हिंसात्मक प्रदर्शनको आरोपमा पक्राउ परेका १ सय ११ मध्ये ७१ जनालाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको जनाएको छ । उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये शुक्रबार १ सय ५ र शनिबार थप ६ जनालाई पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ४० जनालाई भने सामान्य सोधपुछपछि शनिबार छोडिएको प्रहरीले जनाएको छ ।

‘व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, चोरी/डकैती, लुटपाट, आगजनी र राजद्रोहको मुद्दामध्ये के आकर्षित हुन्छ भनेर अनुसन्धान हुँदै छ,’ प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, ‘जानीबुझी नै निजी तथा सरकारी सम्पत्तिको तोडफोड भएका छन् । दुई जनाको ज्यान गएको छ । घटनामा संलग्नमाथि अनुसन्धान गरेर त्यस अनुरूप मुद्दा अघि बढाउँछौँ । सबै माथि अनुसन्धान हुन्छ ।’

दुई जनाको ज्यान जाने गरी भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५१ जना प्रदर्शनकारीसहित १ सय २८ जना घाइते भएका थिए । घाइतेमध्ये ५ प्रहरी, १ सशस्त्र प्रहरी र १६ प्रदर्शनकारी उपचाररत छन् । आन्दोलन हिंसात्मक बनाउन उक्साएको भन्दै प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा सांसद धवलशमशेर राणा, राजावादी अभियानमा संलग्न स्वागत नेपाल, पूर्वराजा ज्ञानेन्द शाहका कमान्डर भनिएका दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्रराज भण्डारी, पशुपति खड्का, मनीषजंग शाही, सेफोर्ड लिम्बू र सन्तोष तामाङलगायतलाई पक्राउ गरेको हो । प्रसाईं भने फरार छन् ।

71 people detained for investigation

प्रहरी परिसर काठमाडौंले हिंसात्मक प्रदर्शनमा निजी तथा सरकारी गरी १८ वटा भवन तोडफोड र आगजनी गरिएको जनाएको छ । जसमा तीनकुने, कोटेश्वर, नरेफाँट, सुविधानगर, जडीबुटी, सुविधानगर, आलोकनगर र गौरीगाउँ क्षेत्रका गरी साढे तीन दर्जन बढी पसल, संघसंस्था र कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा लुटपाट गर्नुका साथै विभिन्न १२ स्थानमा आगजनी गरेको प्रहरीले जनाएको छ । हिंसात्मक जत्थाले २५ वटा गाडीमा पूर्ण क्षति पुर्‍याउनुका साथै १४ वटा गाडीमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । उनीहरूले प्रहरीका ६ वटा गाडी पनि तोडफोड गरेका छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको परिसरभित्र मात्र १३ वटा गाडी पूर्ण रूपमा जलेका छन् भने ४ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पनि आगो लगाइएको थियो । त्यस्तै काठमाडौं महानगरको दुईवटा दमकलमा पनि ढुंगामुढा गरेर क्षति पुर्‍याइएको प्रहरीले जनाएको छ । 

71 people detained for investigation

तीनकुनेको सुनौलो बचत तथा सहकारीको भवनमा पनि राजावादीले आगजनी गर्दा पूर्ण रूपमा जलेर नष्ट भएको छ । उक्त भवनमा लागेको आगो सँगैको अर्को घरमा समेत सल्किएर क्षति पुगेको छ । तीनकुने सुविधानगरको राज भवनमा रहेका ६ निजी संस्था, प्रभु कम्प्लेक्समा रहेका ३ निजी संस्था, एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र र प्रहरीका ३ कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको छ । राजावादीले अञ्जली श्रेष्ठ, निराक श्रेष्ठ, मीरा न्यौपाने, नयनबहादुर पण्डित, सुधा पन्त, हृदय पराजुली, गणेशबहादुर ढकाल, सुदर्शन गोल्छालगायतको घरमा पनि ढुंगामुढा गरेका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully