काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनमा सहभागी भएर आपराधिक घटना संलग्न हुने र त्यसका लागि निर्देशन दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । राजावादीहरूको आन्दोलन हिंसात्मक र अराजक भएको पनि पोखरेलको भनाइ छ ।
राजावादीहरूले गरेको आन्दोलनमा सहभागीलाई आपराधिक घटनाका लागि उक्साउने कार्य भएको पोखरेलको भनाइ छ ।
'आन्दोलनका नाममा नियोजित रुपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक छ,' पोखरेलले शनिबार आग्रह गरेका छन्, 'जनतालाई आतंकित बनाउने, आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।'
शुक्रबार राजधानीमा भएका दुईमध्ये राजावादीहरूको आन्दोलन उग्र भएको बताए । 'हिजो एकैदिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देशमुलुक रह्यो,' पोखरेलको भनाइ छ, 'राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौं भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्दछ । त्यसमा राजावादीहरू पूर्णतः असफल भए ।'
राजावादीका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरैभए पनि बुझ्ने मौका दिएको पोखरेलको भनाइ छ । 'आजको युग जनचेतनाले लैस भएको लोकतन्त्रको युग हो । कसैको निहित स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको छ,' उनले भने ।
