काठमाडौँ — नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजनमाथि भएको सुनियोजित आक्रमणको निन्दा गरेको छ।
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यसहितको टोलीले शनिबार कान्तिपुर टेलिभिजनमा स्थलगत निरीक्षण गर्दै राजावादी पक्षधरले प्रदर्शनका नाममा कान्तिपुर टेलिभिजनमाथि सुनियोजित आक्रमण गरेकोप्रति खेद प्रकट गरेको हो।
महासंघले कान्तिपुर टेलिभिजनमाथिको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको भन्दै संविधानको व्यवस्थाबमोजिम प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
कान्तिपुर टेलिभिजन जस्तो अग्रणी संचारमाध्यममा आक्रमण हुनु भनेको व्यवस्थामाथिकै प्रहार भएको भन्दै पत्रकार महासंघले त्यसकाविरुद्ध शनिबारदेखि नै आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ।
त्यसक्रममा कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले आतङ्कवादी शैलीमा टेलिभिजनमाथि प्रहार भएको भन्दै यसलाई सरकारले गम्भीररुपमा लिनुपर्ने बताए।
पत्रकार महासंघको टोलीले कान्तिपुर टेलिभिजनमा आक्रमणकारीहरूले पुर्याएको क्षतिको विवरण संकलन गरेर सरकारसमक्ष जानकारी गराउने समेत प्रतिवद्धता जनाएका छन् । महासंघको टोलिले टेलिभिजनमाथि भएको आक्रमणको अवलोकन समेत गरेका छन् ।
यसअघि पत्रकार महासंघको नेतृत्वमा हिजो पूर्वराजापक्षधरले संचार माध्यम र पत्रकार माथि गरेको आक्रमणको निन्दा गर्दै माइतिघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।
