काठमाडौँ — राजावादीले गरेको प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भएको र त्यसमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर जबराका सम्बन्धमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । उनी फौजदारी अभियोगमा पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई गराएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद जबरा पक्राउ परेको सूचनाका सम्बन्धमा सभामुख घिमिरेलाई पत्र पठाएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, 'सांसद जबरा पक्राउ गरिएकाबारे प्रहरीले जानकारी अवगत गराएको छ । प्रहरीले लेखेको पत्र प्राप्त भएको छ ।'
संविधानले गरेको व्यवस्थाअनुसार प्रहरीले जानकारी गराएको गिरीले बताए । संविधानको धारा १०३ (६) मा फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरिए सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।
'संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन,' संविधानमा उल्लेख छ, 'तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिनेछैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।'
संविधानको उक्त व्यवस्थाअनुसार नै प्रहरीले सभामुखलाई पत्राचार गरेको हो । जबरालाई शुक्रबार साँझ पक्राउ परेका थिए ।
