एमसीसीविरुद्धको आन्दोलनका बेला रिपोर्टिङ गर्दा सुरेश घाइते भएका थिए, यसपालि राजावादीको आन्दोलनमा आगजनीमा परी ज्यान गुमाए
काठमाडौँ — बिहान चन्द्रागिरीस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजकको घरमा भोजको तयारी थियो । उनले माइलो दाइ दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनु ।’
तीन भाइमध्ये सुरेश र दिनेश तीन महिनादेखि नयाँ घर चन्द्रागिरीमा बस्दै आएका थिए । दिनेश र सुरेश दुवै पत्रकारिता गर्थे । त्यो दिन जेठो दाइ र आफन्तलाई उनीहरूले भोजमा डाकेर दुवै राजावादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङमा निस्किए । घरमा आफन्तहरूको उपस्थितिले रमझम बढिरहेको थियो ।
‘चाँडो आउँछु भनेर निस्केको भाइ अब कहिल्यै फर्किएन,’ दाइ दिनेश भक्कानिँदै भन्छन् ।
शुक्रबार राजावादीहरूले काठमाडौंको तीनकुनेमा केन्द्रित गरेको प्रदर्शनमा उनीहरुले एक भवन आगजनी गरे । एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश त्यही दृश्य खिचिरहेका थिए । आगोमा परी उनले ज्यान गुमाए ।
२०४७ सालमा जन्मेका सुरेशले एसएलसीसम्म पढेका थिए । पत्रकारितामा आउनुअघि उनी वैदेशिक रोजगारीका क्रममा मलेसिया थिए । ‘भाइ उतै हुँदा आमा बित्नुभयो अनि ऊ फर्किएर नेपाल आयो । त्यसपछि विदेश नगई पत्रकारिता सुरु गर्यो,’ दिनेश भन्छन् ।
शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । ‘हामीले खाना बाहिर खायौं । तीनकुनेको एउटा कलेजमा बाइक पार्किङ गरेर फिल्डमा गएका थियौं,’ अनिल भन्छन् ।
उनका अनुसार सुरेश र अनिल त्यहाँ पुग्दा राजावादी प्रदर्शनकारी भर्खर भेला हुँदै थिए । ३० मिनेटजति रिपोर्टिङ गरेर उनीहरू साथीहरूसँग चिया पिउन आगलागी भएको भवनसँगैको गल्लीभित्र गए । प्रदर्शनकारीले प्रदर्शन गरिरहेका बेला प्रहरीले अश्रुग्यास फाल्यो भन्ने खबर पाए । ‘गल्लीबाट निस्कँदै प्रदर्शनकारीले माथिबाट प्रहरीले अश्रुग्यास फाल्यो भनेर ढुंगामुढा गर्ने प्रयत्न गर्दै थिए । सडकमा निस्किएपछि हामीलाई अश्रुग्यासले उकुसमुकुस बनायो । दाइले प्रहरीको समूहमा छिर्छु भनेर मलाई क्यामरा थमाइदिनुभयो । अनि अगाडि जानुभयो । दाइले मोबाइलबाट लाइभ गर्नुभयो,’ अनिल सुनाउँछन्, ‘केहीबेरपछि फेरि दाइ र म पहिल्यैको चिया पसलमा भेट्यौं ।’
त्यहीबेला गल्लीबाट एक्कासि आन्दोलनकारीले भवनतिर आक्रमण गर्न थालेको भेउ पाएहरूले । उनीहरू भवनको अगाडिपट्टि दृश्य खिच्दै पुगे । अचानक भीड बढ्यो र उत्तेजित भयो । भवन प्रवेश गर्ने सटरको चाबी तोडेर आन्दोलनकारी भित्र छिर्न थाले । ‘त्यसपछि दाइ बुम मलाई थमाइदिएर स्वाट्टै छिर्नुभयो । मैले केही भन्नै पाइनँ । दाइ दोस्रो तलामा बसेर खिच्नुभएको हेरिरहेको थिएँ । ढुंगामुढा चलिरहेको थियो । त्यहीबेला प्रदर्शनकारीले आगो लगाउनुपर्छ भनिरहेका थिए,’ अनिल भन्छन्, ‘सामान माथिबाट झारिरहेका थिए । फेरि अश्रुग्यास प्रहार गरियो । म पनि एकतिर भएँ । प्रदर्शनकारी तितरबितर भए ।’
अनिलका अनुसार प्रदर्शनकारीले आगो बाल्न लागेको देखे । आगो जलिरहँदा सुरेश तेस्रो तलामा रहेर दृश्य कैद गरिरहेको देखेपछि उनले इसारा गरे, सुरेशले देखेनन् । फोन गरे, उठाएनन् । ‘त्यसपछि एमसीआरमा फोन गरेँ । हल्लाखल्ला मच्चियो । माथि गएका मान्छे झर्न थाले । दाइ आउनुहुन्छ होला भनेर हेरेँ तर आउनुभएन । सम्पर्क नै हुन सकेन,’ अनिल भन्छन् ।
अनिल आत्तिएर ढुंगामुढाको सामना गर्दै प्रहरीसमक्ष पुगे । तर प्रहरीहरूले आफ्नो गुहार नसुनेको अनिलको गुनासो छ । १० मिनेटपछि दमकल त आयो तर प्रदर्शनकारीको ढुंगाको प्रहारबाट दमकलको सिसा फुट्यो । आगो निभाउन सकेन । ‘त्यसपछि प्रहरीलाई गुहार मागेँ । फेरि पनि गुहार सुनेनन् । दमकल बोलाउन लगाउँदा उनीहरूले ढुंगामुढा हुन्छ भन्दै टारे,' अनिल भन्छन्, 'मान्छे भित्र हराइरहेको छ तर प्रहरी प्रशासनको त्यस्तो जवाफ आयो । मैले घुँडा टेकेर प्रदर्शनकारी र प्रहरीलाई ढोग्न थालेँ ।’
पछि दमकल आएर आगो निभायो । सशस्त्र प्रहरीका तीन प्रहरी गए । उनीहरूले मान्छे क्षति नभएको भन्दै ढुक्क हुनु भने । ‘त्यसपछि दाइलाई अस्पताल लगायत विभिन्न ठाउँमा खोज्यौं, भेटेनौं । फेरि आगो बल्न थाल्यो भवनमा । पछि आगो निभाएर माथि जाँदा दाइको जलेको शव थियो,’ उनी सुनाउँछन् ।
सुरेशका दाइ दिनेशले रिपोर्टिङका क्रममा भाइ भवनभित्र फसेको पछि थाहा पाए । ‘उसलाई नियोजित रुपमा मारे । बचाउन सकिन्थ्यो । तर प्रहरीको लापरबाहीले ज्यान गुमायो,’ दिनेश भन्छन् ।
सुरेशको परिवारले उनलाई सहिद घोषणा गर्न, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेको छ ।
निडर पत्रकार
सुरेशका सहकर्मी र पूर्वसहकर्मीका अनुसार उनी निडर र इमानदार थिए । सुरेशले माउन्टेन टेलिभिजनबाट ७ वर्षअघि पत्रकारिता सुरु गरेका थिए । ‘त्यतिबेला सुरुमा उहाँलाई तालिम हामीले नै दिएका थियौं,’ माउन्टेन टेलिभिजनमा सँगै काम गरेका सुरेशका पूर्वसहकर्मी डीबी मगर भन्छन्, ‘त्यतिबेलादेखि नै उहाँ आँटिलो हुनुहुन्थ्यो । जोखिम मोलेर काम गर्न रुचाउनुहुन्थ्यो ।’
डीबीका अनुसार एमसीसीविरुद्ध भएको आन्दोलनका बेला रिपोर्टिङ गर्दा पनि सुरेश घाइते भएका थिए । केही महिना माउन्टेनमा काम गरेर उनी एभिन्युज टेलिभिजन गएका थिए ।
दाइ दिनेशका अनुसार उनी आफ्नो काममा सधैं इमानदार र दत्तचित्त रहन्थे । ‘ऊ अफिस समयभन्दा जहिल्यै अगाडि पुग्थ्यो । काममा कहिल्यै बिदा लिएर बसेको थाहा छैन । उसलाई जोखिम मोलेर काम गर्न साह्रै इच्छा लाग्थ्यो,’ दिनेश भन्छन् ।
सुरेशले ८ वर्षअघि बिहे गरेका थिए । भाइ गुमाएपछि आहत भइरहेका दिनेश आफू र परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्तामा छन् । भक्कानिँदै भन्छन्, ‘यस्तो बेलामा कसरी मन बुझाऊँ ?’
