भिडियो खिच्दाखिच्दै भवनसँगै जले पत्रकार सुरेश

सुरेश फुटेज खिच्न भवनभित्र पसेको केही बेरमा आगो दन्कियो, अश्रुग्यास पनि प्रहार भयो, सञ्चारकर्मी, राजावादी तितरबितर भए, आगो नियन्त्रणमा आएपछि सुरेशलाई खोज्दा जलेको अवस्थामा फेला परे

चैत्र १६, २०८१

सुरज कुँवर

Suresh, a journalist, burned down with the building while shooting a video

काठमाडौँ — मूल घर ताहाचल भई हाल चन्द्रागिरिमा बस्दै आएका ३३ वर्षीय सुरेश रजक एभिन्युज टीभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख थिए । १० वर्षदेखि एभिन्युजमा कार्यरत उनी मुख्य घटना तथा राजनीतिक गतिविधिमा आफैं भिडियो खिच्न खटिन्थे ।

एभिन्युजका सम्पादक सुशील पाण्डेका अनुसार राजावादीको आन्दोलनबारे ‘फिल्ड रिपोर्टिङ’ गर्न शुक्रबार पारस श्रेष्ठ र अनिल रायमाझीसँगै क्यामेरा पर्सन सुरेश तीनकुने खटिएका थिए । सुरेशले त्यहाँका गतिविधिको लाइभ भिडियो खिचिरहेका थिए । यसै क्रममा मार्बल हाउस रहेको भवन नजिक हुलदंगा सुरु भयो । सुरेश ‘एक्सक्लुसिभ फुटेज’ खिच्न भवनभित्र पसे । त्यसको केही बेरमा भवनमा आगो दन्कियो । त्यसपछि अश्रुग्यास प्रहार भयो । सञ्चारकर्मी, आन्दोलनकारी तितरबितर भए । भवनभित्र गएका सुरेश सम्पर्कविहीन भए । 

एभिन्युज टीभीकै रिपोर्टरहरूले उनी कतै अश्रुग्यास छल्दै लुकेका होलान् भन्ने ठाने । तर सुरेश लामो समयसम्म पनि फर्केनन् । उनीहरूले त्यो खबर महाराजगन्जस्थित टीभीको न्युज रुममा टिपाए । सुरेशको खोजी हुन थाल्यो ।

एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले चार पटक नेपाल प्रहरीका आईजीपी दीपक थापालाई खोजीका लागि अनुरोध गर्न फोन गरे । सशस्त्र प्रहरीका प्रमुख राजु अर्याललाई पनि क्यामेरा पर्सन सुरेश हराएको खबर गरे । ‘पटक–पटक दुवै आईजीपीलाई फोन गरें । काठमाडौंका सीडीओले फोन काटे । एसएमएस गरें तर रेस्पोन्स नै गरेनन् । राज्यविहीनताको महसुस भयो,’ राजकर्णिकारले भने । जब भवनको आगो नियन्त्रणमा आयो, एभिन्युजका प्रधानसम्पादक केदार कोइराला, सम्पादक पाण्डेलगायत आगलागी भएको भवनमा उक्लिए । चौथो तलाको एउटा कोठाभित्र सुरेशको शव भेटियो । ‘घुँडामाथि सबै जलेको थियो । क्यामेरा पनि जलेको थियो,’ सम्पादक पाण्डेले भने, ‘क्यामेराको एसडी कार्ड फेला पार्‍यौं ।’ बेलुकीपख सुरेशको शव प्रहरीले मुचुल्का उठाई परिवारजन र एभिन्युज व्यवस्थापनलाई बुझायो । शव पोस्टमार्टमका लागि उनीहरूले शिक्षण अस्पताल लगे । सहकर्मी गुमाएको पीडाले उनीहरू भावविह्वल थिए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully