तोडफोड, आगजनी र लुटपाटमा राजावादी

प्रदर्शन हिंसात्मक, २ जनाको मृत्यु, ११० घाइते, ज्ञानेन्द्र शाहका ‘कमान्डर’ दुर्गा प्रसाईं फरार

चैत्र १६, २०८१

विवेक पोख्रेल

Royalists in vandalism, arson and looting

काठमाडौँ — राजावादीको ढुंगामुढा, आक्रमण र आगजनीसहितको हिंसात्मक आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका छन् । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जन छन् ।

प्रत्यक्ष प्रसारणका लागि भिडियो खिचिरहेका पत्रकार रजक बसेकै घरमा राजावादीले आगजनी गरेपछि जलेर मृत्यु भएको हो । 

सुमो चालक कीर्तिपुरका महर्जनको भने कोटेश्वरस्थित प्रहरी प्रभागमा ढुंगा प्रहार गरेर आगजनीे प्रयास गर्दा प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो । 

घाइते हुनेमा नेपाल प्रहरीका ५३, सशस्त्रका २२ र राजावादी ३५ जना छन् । घाइतेमध्ये ९ जनालाई गोली लागेको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । रबरको गोली लागी घाइते भएका ५ जनाको निजामती कर्मचारी अस्पतालमा उपचार भएको छ । त्यहाँ उपचार गरिएकामध्ये एक जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । अन्यको अवस्था सामान्य छ । केहीलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । गोली लागेका दुई जनाको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुईमध्ये २७ वर्षका एक पुरुषको पेटमा गाली लागेको छ । 

उनलाई आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको छ । अर्का एकको कुममा गोली लागेको र अवस्था सामान्य रहेको छ । गोली लागी घाइते अन्य दुई जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उक्साएर आन्दोलन हिंसात्मक बनाएको भन्दै प्रहरीले रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफोर्ड लिम्बू र सन्तोष तामाङलगायत १७ जनालाई पक्राउ गरेको छ । आन्दोलनको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने मोबाइल अफ गरेर राति अबेरसम्मै फरार छन् । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने घरमै नजरबन्द गरिएको छ । 

उग्र र अराजक राजावादीले इन्द्रेणी सहकारी रहेको भवनमा लगाएको आगो अर्को घरमा पनि सल्किएको थियो । तीनकुने क्षेत्रका दर्जन घरमा ढुंगा प्रहार भएका छन् । राजावादीले मिडिया हाउसमा समेत आक्रमण गरेका छन् । उनीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र गैरीगाउँस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका हुन् । अन्नपूर्णमा आगजनीको प्रयाससमेत भएको थियो ।

अन्नपूर्णको कार्यालयमा आगजनीको प्रयाससमेत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोलीका साथै केही राउन्ड ‘लाइभ बुलेट’ पनि प्रहार भएको थियो । राजावादीले तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा गरेर करिब डेढ दर्जन गाडी जलाउनुका साथै कैयौं गाडी तोडफोड गरेका थिए ।

तीनकुनेबाट तितरबितर भएको अराजक भीड आलोकनगर, कोटेश्वर, सिनामंगलतर्फ बाटोमा हुलदंगा मच्चाउँदै अघि बढेको थियो । कोटेश्वरतर्फ बढेको भीडले सुरुमा चोकमा रहेको प्रहरी प्रभागलाई लक्षित गर्दै ढुंगा प्रहार गरेको थियो । त्यहाँ प्रहरीले बल प्रयोग गरेपछि भीड दुई भागमा बाँडिएको थियो । कोटेश्वरबाट दक्षिणतर्फ लागेको भीडले भाटभटेनी सुपरमार्केटलाई आफ्नो निसाना बनाएर तोडफोडका साथै लुटपाट गरेको थियो । कोटेश्वर चोकबाट पूर्वतर्फ बढेको भीडले भने जडिबुटी चोकमा रहेको जडिबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा आगजनी र ढुंगामुढा गरेको थियो । जडिबुटी कारखानाको परिसरभित्र पार्किङ गरिएका ८ वटा गाडीसमेत जलेका छन् ।

 आलोकनगरतर्फ गएका राजावादीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए । भाटभटेनीमा तोडफोड गरेर बालकुमारीतर्फ अघि बढेका राजावादीले ७ वटा गाडी जलाएका थिए । राजावादीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजे पनि सुरक्षाकर्मीले रोकेका थिए ।

उग्र प्रदर्शनकारीको एउटा समूह पेरिसडाँडास्थित माओवादी कार्यालयमा प्रवेश गर्न खोजेको थियो । सुरक्षाकर्मी तैनाथ भएकाले प्रवेश सम्भव नभएपछि नजिकै पार्किङ गरिएको लागूऔषध नियन्त्रण ब्युरोको गाडी जलाएका थिए । बालकुमारी चोकबाट अघि बढेको भीडले बाटोमै पर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पनि ढुंगा प्रहार गरेको थियो ।

 सिनामंगलतर्फ अगाडि बढेका राजावादीले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनबीचको झाडीमा आगो लगाएका थिए, जसका कारण शुक्रबार काठमाडौं विमानस्थल झन्डै डेढ घण्टा अवरुद्ध भएको थियो । यो अवधिमा दर्जनौं आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा सयौं यात्रु प्रभावित भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार संसद् भवनबाट भक्तपुरतर्फ घर फर्कंदै गर्दा बालकुमारीमा राजावादीले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीसमेत जलाइदिएका थिए । ‘हिंसात्मक बनेका राजावादीले गरेको तोडफोड, आगजनीलगायत भौतिक क्षतिको पूरै विवरण आउन बाँकी नै छ,’ उनले भने । राजावादीले अश्रुग्यास प्रहार गर्ने बन्दुकसमेत सुरक्षाकर्मीबाट खोसेका थिए ।

 राजावादीबाट व्यक्तिका घर, पसल, सञ्चारगृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, तीनकुने, कोटेश्वर र गौशला क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । कर्फ्यु लगाएसँगै सुरक्षाका लागि सडक र चोकमा नेपाली सेना पनि तैनाथ भएका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully