राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो : अध्यक्ष दाहाल

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Royalist conspiracy failed by Samajwadi Morcha: President Dahal

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चाको विरोधसभाका कारण राजावादीहरूको प्रदर्शन कमजोर बनेको बताए।

उनले आफूले राजावादीहरूले ठूला घटना गराउने योजना बनाएको सूचनासमेत पाएको बताए । उनले भने, ‘निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा एउटा आततायी र विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति अग्रगमन र पश्चगमन फेरि एकचोटि नयाँ सन्दर्भसहित आपसमा टकराइ रहेका थिए । मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, हिजो समाजवादी मोर्चाले प्रदर्शन पनि नगरेको भए राजतन्त्रवादीहरूले अझ ठूला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्‍याउने षड्यन्त्र थियो।'

उनले राजावादीहरूको प्रदर्शनले धनजनको क्षति भएपनि क्षतिलाई यतिमा मात्रै सीमित गर्न गणतन्त्र पक्षधरहरूको प्रतिवद्धताले दबाब पुगेको बताए। 'धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरू घरहरू जलाइए । संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए । तर मलाई बुद्धिजीवीहरूले भनेको कुरा के हो भने यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिप्रदर्शन नगरेको भए राजावादीहरूलाई थप बल पुग्थ्यो,' उनले भने।

अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरूले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रश्तुत गरेको जिकिर गरे ।

कान्तिपुर

Link copied successfully