काठमाडौँ — नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत गरेको महासंघले शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको छ।
महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।
माइतीघरमा भएको विरोधसभामा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले रिपोर्टिङमा खटिएका पत्रकार रजकको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
उनले पत्रकार रजकको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरे। विरोधसभामा बोल्दै महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले गणतन्त्रमा पनि कार्यस्थलमा पत्रकार हुनु दुःखद भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
महासंघका महासचिव रामप्रसाद दाहालले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे। उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत घोषणा गरे।
शुक्रबारको प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेको थियो भने फोटो खिचेको निहुँमा पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण गरेका थिए।
