काठमाडौँ — गृहमन्त्री रमेश लेखकले राजावादीहरूद्वारा गरिएको आक्रमण र हिंसात्मक घटनामा संलग्नलाई कानुनअनुसार कडा कारबाही हुने बताएका छन् ।
शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनधनको क्षति गर्नेहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
शुक्रबार तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गरिएको थियो । आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनीसमेत गरेका थिए।
गृहमन्त्री लेखकले आन्दोलन राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग कुनै सम्बन्ध नभएको बताउँदै, यो आपराधिक र अमानवीय गतिविधि भएको उल्लेख गरे । मानिसहरू घरभित्रै रहेको थाहा हुँदाहुँदै आगो लगाउँदा एक पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको मृत्यु भएको उनले बताए ।
उनले मृतकप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
‘शुक्रबार भएको घटना प्रदर्शन होइन, योजनाबद्ध आक्रमण हो। सञ्चारगृह, गणतन्त्र समर्थक नेताका घर तथा पार्टी कार्यालयमा आक्रमण, निजी तथा सरकारी सम्पत्तिको विनाश, सपिङ कम्प्लेक्सहरूमा तोडफोड गर्नु यी सबै आपराधिक गतिविधि हुन्। दोषीहरूमाथि कानुनअनुसार कारबाही हुन्छ,’ गृहमन्त्री लेखकले भने।
उनले घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कडा कारबाही हुने स्पष्ट पारे।
