सरकारले राम्रो काम गर्न नसक्दा राजावादीले फाइदा उठाउन खोजेको समाजवादी मोर्चाका नेताहरूको टिप्पणी
काठमाडौँ — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजावादीको शुक्रबारको प्रदर्शनलाई अराजकताको पराकाष्ठा भनी टिप्पणी गरेका छन् । राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर गल्ती गरे पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा आयोजना गरेको जनसभामा माओवादी अध्यक्ष दाहालले राजावादीको आन्दोलनप्रति चर्को आलोचना गर्दै त्यसको जवाफ सडकबाट दिने बताए । ‘पूर्वराजाले विगतमा धेरै गल्ती गरे, त्यसको परिणाम भोगिरहेकै छन्,’ उनले भने, ‘अर्को गल्ती गरे परिणाम भोग्न केही पनि बाँकी रहँदैन । खबरदार ! ’
दाहालले विगतको आत्मसमीक्षा गरी आम नेपालीको पक्षमा अर्को शान्तिपूर्ण आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आएको पनि बताए । ‘म विगतको आत्मालोचना गर्न चाहन्छु । गल्तीबाट शिक्षा लिएर जनताको पक्षमा सम्पूर्ण सहिद, बेपत्ता, घाइते योद्धाको सपना पूरा गर्न अर्को नयाँ क्रान्तिको नेतृत्व गर्न तयार भएको घोषणा गर्न चाहन्छु,’ उनले भने, ‘मैले अर्को युद्धको आवश्यकता देखेको छैन, शान्तिपूर्ण आन्दोलन आवश्यक छ ।’
माओवादी अध्यक्ष दाहालले राजावादीलाई पञ्चायती मण्डलेको संज्ञा दिए । ‘हामी अराजकता मच्चाउने मण्डलेलाई छुट दिनेछैनौं । जनताको घरमा आगो लगाएका छन्,’ उनले भने । राजावादीले मुलुकमा अराजकता फैलाउन समाजवादी मोर्चासँग कार्यक्रम जुधाएको उनको भनाइ थियो । ‘हामीले पहिल्यै कार्यक्रम राखेपछि वातावरण धमिल्याउन चाहनेहरूको उत्तेजित, आतंकित पार्ने मनसाय देखिएकै थियो,’ उनले भने ।
सरकारले राम्रो काम गर्न नसक्दा राजावादीले फाइदा उठाउन खोजेको दाहालको भनाइ थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओली भित्रभित्रै राजावादीसँगै मिलेका त छैनन् भन्ने प्रश्न उठेको पनि उल्लेख गरे । ‘उहाँ (ओली) लाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ,’ उनले भने, ‘अहिले उल्टो काम गर्दै हुनुहुन्छ, यसले राजावादीलाई फाइदा हुन्छ । गणतन्त्रवादी हो भन्ने पुष्टि गर्न सदनमा आएर जवाफ दिनुपर्छ । तर उहाँको अहंकारले यो दिँदैन ।’ विद्युत् प्राधिरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले संसद्मा चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
संविधानको रक्षा गर्न र गणतन्त्रलाई बलियो बनाउन कांग्रेस र एमालेले आत्मसमीक्षा गर्नुपर्ने दाहालले बताए । ‘गणतन्त्रमा सँगै हिँडेका, शान्ति सम्झौता गरेका दलहरूलाई आफ्ना गल्ती कमजोरीको समीक्षा गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘जनतामा किन यति धेरै आक्रोश भएको छ ? आफूलाई लोकतान्त्रिक मूल्यतिर फर्काउन संविधानसभा र गणतन्त्रको सहयात्रीको नाताले खबरदारी मात्र भनेका छौं । गम्भीर हुनुभएन भने सामन्त, दलालविरुद्ध हुने क्रान्तिले बढारेर लान्छ । इमानदारीसाथ गणतन्त्रको पक्षमा सहकार्य गर्न आउनुहोस् ।’
माओवादी अध्यक्ष दाहालले संविधानको समीक्षा गरेर अघि बढ्न सकिने बताए । ‘संविधान जारी भएको १० वर्षपछि समीक्षा गर्ने भनेका थियौं । कहाँ त्रुटि छ, कहाँ कार्यान्वयन भएन भनेर विस्तृत समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन अधिकार खोस्न होइन, लोकतन्त्र सुदृढ गर्न, आर्थिक समृद्धिको नयाँ खाका कोर्न हुनुपर्छ ।’
सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्काउन खोजिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘प्रतिगामीहरू होसियार ! यो मुलुक वंश, परिवारको शासनतिर फर्कन सक्दैन । जनता स्वाधीन छन् । सार्वभौम सत्ता सम्पन्न भएका छन्,’ उनले भने, ‘नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन ।’
अध्यक्ष नेपालले सरकार जनताको काम गर्नबाट विमुख भएको आरोप लगाए । सरकारकै कारण प्रतिगामी शक्तिले टाउको उठाउन खोजेको उनले भनाइ थियो । ‘देश प्रतिगमनको दिशामा जान सक्दैन,’ उनले भने ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरे । ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्त्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘नेपाली जनता गणतन्त्रप्रति गौरव गर्छन् । प्रतिगामीले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई प्रभुको खाँचो छैन, सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन ।’
चन्दले बलिदानबाट आएको परिवर्तनलाई पुँजीवादीले कब्जा गरेर शोषण गरिरहेको बताए । ‘हामी मुक्ति चाहन्छौं । फेरि सामन्तीका भूतले अर्को बोझ थप्न खोजे हामी स्वीकार गर्छौं ?’ उनले भने । मुलुकमा राजतन्त्र फर्काउन खोजे राजावादीले पछुताउनुपर्ने उनको भनाइ थियो । ‘नेपालमा किन राजतन्त्र चाहियो ? साढे दुई सय वर्षसम्म राजतन्त्रले के गर्यो ? पञ्चायतदेखि अहिलेसम्म सबै थाहा छ । पञ्चायतमा बोल्न पाइँदैनथ्यो । कमैया, दलित, किसानमाथि दमन थियो,’ उनले भने, ‘राजतन्त्र फर्केर के हुन्छ ?’
महासचिव चन्दले गणतन्त्रका कमीकमजोरी सच्याउँदै नेपाली विशेषताको समाजवादमा जानुपर्नेमा जोड दिए । ‘गणतन्त्र नेपाली जनताका लागि पर्याप्त छैन, केही कमीकमजोरी छन् । हामी अघि जान खोजेका छौं । इतिहासले ढोका खोल्दै छ,’ उनले भने, ‘अग्रगामी शक्तिले नयाँ ढंगले सोच्नुपर्छ । निराश भएर सामन्ती चिच्याहटतिर फर्कनु हुँदैन ।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चेतावनी दिए । सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउन खोजेको आरोप उनले लगाए । ‘सहमतिका आधारमा संविधान संशोधनको बाटोमा सरकार अघि बढोस्,’ उनले भने ।
