मानवअधिकार अधिकृत कुटिए

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Human rights officers were beaten

काठमाडौँ — राजावादीहरूको प्रदर्शन अनुगमन गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगको टोलीमाथि हिंसात्मक आक्रमण भएको छ । आक्रमणमा परी मानवअधिकार अधिकृत खिमानन्द बस्याल घाइते भएका छन् । आयुक्त लिली थापा र उनका चालकमाथि पनि हातपात भएको छ ।

‘हामी तीनकुनेमा पुगेर प्रदर्शनस्थलको अनुगमन गरिरहेका थियौं, एक्कासि एउटा भीड आएर हातपात गर्न थाल्यो, त्यसैबेला प्रहरीले हानेको अश्रुग्यासले आँखा हेर्न नहुने भयो,’ अनुगमन टोलीको नेतृत्वकर्ता आयुक्त थापाले भनिन्, ‘एकदमै अराजक र अनियन्त्रित भीडले जे पनि गर्न सक्ने अवस्था त्यहाँ थियो, हामीलाई नै ज्यान जोगाउन बडो मुस्किल पर्‍यो ।’

प्रहरीले अश्रुग्यास हान्दा पनि आयोग टोलीले केही नबोलेको भन्दै राजावादीको एउटा जत्थाले उनीहरूमाथि लात्ती, मुक्का र चड्कन बर्साएको थियो । ‘हामीलाई डलरे भन्दै जथाभावी कुटपिट गर्न थाले, कसै–कसैले मानवअधिकारवादीलाई नकुट पनि भनेको सुन्दै थिएँ, त्यसै बेला मलाई टाउकामा प्रहार भयो,’ मानवअधिकार अधिकृत बस्याल भन्छन्, ‘उनीहरूबाट फुत्केर नजिकै रहेका प्रहरीसमक्ष पुगेपछि भने कुट्न छाडे ।’ 

प्रदर्शनकारीको शैली हिंसात्मक भएको राष्ट्रिय मानवअधिकार आयोगको निचोड छ । ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्न सकिँदैन,’ आयोगले भनेको छ, ‘हिंसामा संलग्न जोकोहीलाई कानुनी कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

हिंसात्मक प्रदर्शन गरेका राजावादीले कोटेश्वरस्थित भाटभटेनी सपिङ कम्प्लेक्समा तोडफोडसँगै लुटपाट मच्चाएका थिए भने रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको स्कर्पियो गाडी पनि जलाइदिएका थिए । 

‘उनीहरूले गाडी रोकेर जलाए, म चाहिँ त्यो अराजक भीडबाट फुत्केको हुनाले जोगिएँ,’ परियारले भने, ‘यो हिंसात्मक र अराजक प्रदर्शनबाटै राजावादीले आफ्नो औचित्य समाप्त पारेका छन् ।’

कान्तिपुर

Link copied successfully