तीनकुनेको हिंसात्मक घटनामा ज्ञानेन्द्रले जवाफ दिनुपर्छ : सिटौला

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Gyanendra should respond to the violent incident in Tinkune: Sitaula

काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्ने बताएका छन्। शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले शुक्रबारको घटनाका विषयमा ज्ञानेन्द्रले जवाफ दिनुपर्ने बताएका हुन्।

'हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजतन्त्र पक्षधरहरूले जे हिंसात्मक र दु:खद् घटना घटाए, त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन?  यदि हो भने उनले जिम्मेवारी लिनुपर्छ,' उनले भने। 

नेता सिटौलाले ज्ञानेन्द्रलाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने बताए। 'पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्,' उनले भने। 

उनले पूर्व राजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। 'राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक?,' सिटौलाको प्रश्न थियो। उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै अब राजतन्त्र पुनस्थापना सम्भव नभएको समेत दाबी गरे। 

कान्तिपुर संवाददाता

Link copied successfully