काठमाडौँ — नेपाली कांग्रेसका ६ शीर्ष नेताहरूबीच अनौपचारिक भेटघाट र हिजोको घटनाबारे छलफल भएको छ । शनिबार बिहान पूर्व उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा बिहान झन्डै दुई घण्टा छलफल भएको थियो ।
छलफलमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए।
नेताहरूले हिजो राजधानीमा भएको प्रतिगमनकारी तथा आपराधिक घटनाको भर्त्सना गर्दै जनताको जीउधन सुरक्षामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
छलफलमा तीनकुनेमा भएको प्रदर्शनको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ। साथै छलफलमा नेताहरूले एकीकृत समाजवादी पार्टी कार्यालयमा भएको तोडफोड, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक, अनलाइन खबरलगायत सञ्चारगृहमाथि भएको आक्रमण, जडिबुटी प्रशोधन केन्द्र तथा भाटभटेनी सुपरमार्केटसहित व्यापारिक प्रतिष्ठानहरूमा भएको तोडफोड र लुटपाटको घोर निन्दा गरेका छन् ।
नेताहरूबीचको छलफल पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक राजनीति तथा नेपाली कांग्रेसको १५औं महाधिवेशनका विषयमा केन्द्रित रहेको एक नेताले बताए । । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप सुदृढ बनाउने तथा कांग्रेसलाई एकताबद्ध गर्दै संगठनात्मक रूपमा मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
भविष्यमा अन्य शीर्ष नेताहरूलाई समेत समेट्दै यस्ता अनौपचारिक छलफललाई निरन्तरता दिने सहमति गरिएको छ।
