काठमाडौँ — संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो ।
बर्खास्तसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध पारेका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।
सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रूपमा अघि बढ्ने सहमति भएको जानकारी दिए ।
उनले प्रतिपक्षी दलहरूको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरूले आनाकानी गरेको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पुर्याएर सम्माननीय प्रधानमन्त्रीज्युले आगामी १८ गतेको बैठकमा संसद्को आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ । यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट । प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ । आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह गर्यौँ । राष्ट्रिय सभामा रहेका ५ वटा प्रतिस्थापन विधेयक १७ गते बेलुकासम्म निष्कर्षमा पुर्याउनुपर्नेछ । यि सबै कुरा आग्रह गर्यौँ । उहाँहरूको माग बमोजिम अघि बढ्ने भन्दा पनि आजको हाउस चलाउने र सहज ढंगले अघि बढ्ने कुरामा सकारात्मक परिस्थिति भएन । आइतबारबाट बैठक सहज रूपमा सञ्चालन हुनेछ ।’
उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भए पनि प्रतिपक्ष दलहरूको अवरोधका कारण अहिलेसम्म अड्किएको बताए ।
