काठमाडौँ — शुक्रबार राष्ट्रिय सभा बैठकको कारबाही सुरु गर्न खोज्दा विपक्षी दलहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका छन्।
विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्ने समय दिए । सांसद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जबाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गरे।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा जोगाउन आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गरे। राजनीतिक दलहरू स्वयं सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष दाहालले पटक–पटक आसन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरे पनि विपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि उनले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे ।
