प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned till 11 am on Sunday

काठमाडौँ — प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति नभएपछि दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

विपक्षी दलहरूको विरोध जारी रहेपछि संसद् केही दिनदेखि अवरुद्ध छ । सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजै सभामुख देवराज घिमिरले संसद्‍ भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरेका हुन् । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला अजयकुमार चौरसियासमेत सहभागी थिए । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलले सदनमा अवरोध जारी राख्दा संसदीय प्रक्रियामा रहेका पाँच अध्यादेशको भविष्य अन्योलमा परेको छ । संविधानले तोकेको समयसीमाअनुसार ती अध्यादेश आगामी मंगलबारसम्म संसद्बाट पारित नभए स्वतः निष्क्रिय हुन्छन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म अवरोध जारी राख्ने अडान राखेका छन् । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले जवाफ दिने सूचना अहिलेसम्म आएको छैन । यद्यपि एमाले मुख्य सचेतक महेश बर्तौलाले बिहीबार प्रधानमन्त्री नभई सरकारका तर्फबाट मन्त्रीले सदनमा जवाफ दिन सक्ने बताएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully