सामान्य अभद्र र चोरी मुद्दामा कसैलाई २०–२५ दिनसम्म थुनिन्छ, यसमा सरकारी निकायले देखाएको सक्रियता शंकास्पद छ : सुरेशचन्द्र दास, पूर्वसांसद
सिरहा — सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा अछूत भन्दै दलितमाथि भएको ज्यादती घटना टुंग्याउन सरकारी निकायले अस्वभाविक सक्रियता देखाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई उन्मुक्ति दिन प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मको सक्रियता अस्वभाविक देखिएको छ ।
गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष यस घटनामा पक्राउ परेको आज ७ दिनमात्रै भएको छ । उनीहरू गत ९ गते साँझ पक्राउ परेका थिए । तर, कानुनतः जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानको म्याद २५ दिनसम्म हुने भए पनि जिल्ला प्रहरी कार्यालय, सिरहाले बिहीबार ६ दिनमै जिल्ला जिल्ला सरकारी वकिलको कार्यालय, सिरहालाई प्रतिवेदन बुझायो ।
प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले त्यसको अध्ययन गरी त्रुटि भएमा फेरि प्रहरीलाई पठाउने र नभएमा अदालतमा अभियोग पत्र दर्ता गर्ने गर्छ । तर, अन्य मुद्दामा प्रतिवेदन अध्ययनमै कम्तीमा दुई तीन दिनसम्म लगाउने सरकारी वकिलले प्रहरीले प्रतिवेदन बुझाएको बिहानपल्टै शुक्रबार अदालतमा अभियोग पत्र दर्ता गराएको छ ।
यस घटनामा तपाईंहरुको अस्वभाविक सक्रियता देखियो नि ? भन्ने प्रश्नमा जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले सबै कुरा प्रक्रियागत ढंगले नै भएको दाबी गरे । ‘हामीले सबै प्रक्रियागत ढंगले नै गरेका छौं,’ बस्नेतले कान्तिपुरसित कुराकानी गर्दै भने, ‘प्रहरीको प्रतिवेदन हामीले अध्ययन गर्यौं, सबै ठीकै भएपछि हामीले राकेर राख्ने कुरा भएन ।’
सिरहा जिल्ला अदालतका स्रेस्तेदार निरज पोखरेलले सरकारी वकिलले केही बेरअघि अभियोग पत्र दर्ता गरेको र आजै थुनछेक बहस हुन लागेको जानकारी दिए । सरकारी निकायले यस मुद्दामा अस्वभाविक सक्रियता देखाएकोप्रति सिरहाका अगुवाहरुले आपत्ति जनाएका छन् ।
सबै निकायको मिलेमतोमा दोषीलाई उन्मुक्ति दिने काम भइरहेको औरहीका स्थानीयसमेत रहेका पूर्वसांसद सुरेशचन्द्र दासको आरोप छ । ‘सामान्य अभद्र र चोरी मुद्दामा पक्राउ परेका निमुखालाई २०–२५ दिनसम्म थुनामा राखिन्छ,’ उनले भने, ‘तर, यस्तो गम्भीर प्रकृतिको मुद्दामा सरकारी निकायले देखाएको सक्रियता शंकास्पद छ ।’
दलित समुदायका पीडित दीपक मल्लिकलाई सघाइरहेका स्थानीय मनोज पासवानले थुनछेकका विषयमा आफूहरुलाई झुक्यानमा पारिएको बताएका छन् । प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएपछि थुनछेक आइतबारसम्म हुने कुरा आफूहरूले थाहा पाएको र त्यसै हिसाबले आफूहरूले पनि कानुनी तयारी गरेको भए पनि अचानक आजै थुनछेक हुने सुन्दा आश्चर्यमा परेको उनले बताए ।
‘हिजो मात्रै प्रतिवेदन सरकारी वकिलले पाएको थियो, सरकारी वकिलले दुई/तीन दिन अध्ययनमा लगाउँछ भन्ने हामीलाई लागेको थियो, हामीले सोधखोज गर्दा जानकारी पनि त्यस्तै पाएका थियौं,’ उनले भने, ‘यसका लागि हामीले निजी वकिल मगाउने तयारी पनि गरेका थियौं, तर आजै थुनछुक हुने सुनेर हामी अन्योलमा पर्यौं, हामीलाई झुक्याइयो ।’
औरही गाउँपालिका–५ मा चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले गाउँपालिकाकै डोजर लगाएर भत्काइदिएका थिए ।
