शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राजनीतिक दलहरूबीच विवाद छैन : अध्यक्ष दाहाल

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

There is no conflict between political parties to complete the peace process: President Dahal

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको बताएका छन्।जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीवार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढेको बताए।

उनले टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भनेर  पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको बताए।

उनले राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा स्पष्ट रहेको बताए। ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको छ । अर्को यो टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरूलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । मानिसहरूलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेमा प्रतिबद्ध छाैँ,' उनले भने।

उनले अहिले पनि राजनीतिक दलहरूको बीचमा विभिन्न मुद्दामा फरक मत रहेको, तर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा समझदारीका साथ छलफल भइरहेको बताए। 'हामी प्रमुख दलहरू नै कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यी तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा हामीबीच विवाद छैन,' उनले भने, 'कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतकि उत्तारचढावहरू आइरहेका छन्। तर ढिलै भएपनि यो समस्यालाई टुंग्याउनुपर्छ भनेर हामी सहमत छौँ।'

कान्तिपुर

Link copied successfully