प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई सर्वोच्चले दियो रिट सच्याउने अवसर

शाक्य आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

The Supreme Court gave an opportunity to Shakya, Executive Director of the Authority, to correct the writ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन सर्वोच्च अदालतले अवसर दिएको छ । 

शाक्य आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका थिए । सर्वोच्च प्रशासनले भने रिटमा रीत नपुगेको भन्दै सच्याउन अवसर दिएको हो ।

शाक्यका पक्षबाट आएका कानुन व्यावसायीसँग सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले छलफल गरेका थिए । त्यसपछि रिट सच्याउन समय दिइएको हो ।

प्रशासनले फिर्ता  गरेपछि शाक्य पक्षले रिट सच्याएर आजै पेस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि विवाद सर्वोच्च पुगेको थियो ।

सर्वोच्चमा घिसिङले पनि आफ्नो बर्खास्ती गैरकानुनी भएको दाबी गर्दै आजै रिट दायर गरेका छन् । लगत्तै शाक्य पनि आफ्नो पुरानो मुद्दा टुंग्याउन माग गर्दै रीट लिएर पुगेका हुन् । 

शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको र आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए । उक्त रिटको पेसी २०८२ असार १० का लागि तोकिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully