शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील छ : सभापति देउवा

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

The government is trying to complete the rest of the peace agreement: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन्। बिहीवार जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनहरूद्वारा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन दलहरू प्रतिबद्ध रहेको बताए।

सभापति देउवाले संक्रमणकालीन न्यायका लागि नै सरकारले हालैमात्र सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको बताए।

उनले अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउने दाबी समेत गरे। उनले आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट समेत बताए।

‘वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ । संक्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउनेछन्,' देउवाले भने, 'आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ ।'

उनले सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिलाउने विषयमा वर्तमान सरकार र राजनीतिक दलहरू स्पष्ट र प्रतिबद्ध रहेको बताए।

कान्तिपुर

Link copied successfully