प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned till 11 am on Friday

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संसद्को बैठक बिहीबार पनि स्थगित भएको छ । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ।

यसअघि बिहीबार ११ बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको थियो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठकको समय परिवर्तन भएको जानकारी दिएका थिए ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो २ बजेका लागि सारेको महासचिव पाण्डेयको सूचनामा उल्लेख थियो । २ बजे पनि बैठक बस्न नसकेपछि महासचिव पाण्डेयले सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

विपक्षी दलहरूले भने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई हटाउने निर्णय गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफैं सदनमा आएर यसबारे स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडानसमेत राखेका छन् ।

कुलमान लाई हटाइएको विषयमा सरकार संसद्‍मा जवाफ दिन तयार भएको छ । यद्यपि विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने आफैं उपस्थित भएर जवाफ भने नदिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully