प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ : ऊर्जामन्त्री खड्का

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि सार्वजनिक रूपमा आलोचना भइरहेका बेला मन्त्री खड्काको यस्तो अभिव्यक्ति आएको हो ।

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Government will rein in employees who try to get established by propaganda: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताएका हुन् । 

प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नका लागि प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । 'कर्मचारी साथीहरूलाई पनि हेर्छु बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठीक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस्,' उनले भने । 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि सार्वजनिक रूपमा आलोचना भइरहेका बेला मन्त्री खड्काको यस्तो अभिव्यक्ति आएको हो । 

मन्त्री खड्काले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully