कांग्रेस कास्की सभापतिविरुद्ध नेविसंघका ११ केन्द्रीय सदस्यको उजुरी

चैत्र १४, २०८१

अनुप पौडेल

Complaint of 11 central members of the Indian Union against the President of Congress Kaski

कास्की — कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाही माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का ११ जना केन्द्रीय सदस्यले पार्टीमा उजुरी गरेका छन् । स्ववियु निर्वाचनमा सभापति बरालले संगठनलाई क्षति हुने काम गरेको भन्दै कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले बिहीबार अनुशासन समितिलाई पत्र पठाएका हुन् । 

स्ववियुको उम्मेदवार छनोटमा हस्तक्षेप गरेको, नेविसंघलाई हराउन भूमिका खेलेको, चन्दा अपचलन गरेको आरोपसहित उनीहरूले समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई पत्र पठाएका छन् । सभापति बराललाई ७ दिनभित्र अनुशासनको कारबाही गर्न उनीहरूको माग छ । 

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अञ्जान थापाले सचिवबिनै स्ववियु निर्वाचनमा जान सभापतिले दिएको निर्देशन गैरराजनीतिक भएको बताए । कोही व्यक्ति विशेषको विषयभन्दा पनि नेविसंघलाई कमजोर बनाउने गतिविधि हुनु हुँदैन भन्ने मुद्दा आफूहरूले उठाएको उनले जिकिर गरे । 

केन्द्रीय सदस्य राजेन्द्र बराल, नसिब गुरूङ, अन्जान थापा, संस्कार कोइराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बाँस्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले अनुशासन समितिलाई संयुक्त पत्र पठाएका हुन् । 

पार्टी जिल्ला सभापतिलाई कारबाही हुनुपर्ने विषय इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)को स्ववियु निर्वाचनसँग जोडिन्छ । यस क्याम्पसमा चैत ५ को स्ववियु निर्वाचनमा सचिव उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेविसंघभित्र विवाद थियो । 

स्ववियु सचिव पदमा नेविसंघबाट कुशल सापकोटा र प्रशान्त जोशी आकांक्षी थिए । जोशीले मनोनयन फारम भर्दा सापकोटा पक्षले त्यसलाई च्यातिदियो । जोशीले २ टुक्रा भएको मनोनय पत्र निर्वाचन समितिमा बुझाए । निर्वाचन समितिले त्यो खारेज गर्ने निर्णय गर्‍यो । नेविसंघको क्याम्पस इकाई, पार्टी जिल्ला सभापति सचिवबिनै भएपनि निर्वाचन हुनुपर्ने र अर्को एउटा पक्ष सचिव नभई नहुने पक्षमा रहृयो । अन्ततः यस क्याम्पसमा अखिल (समाजवादी)निकट स्वतन्त्र उम्मेदवार प्रकाश ओझा स्ववियु अध्यक्ष बने, अखिल (क्रान्तिकारी)ले सचिव जित्यो । पार्टी जिल्ला सभापतिकै कारण हार व्यहोर्नुपरेको निष्कर्षसहित नेविसंघ केन्द्रीय सदस्यले पार्टी केन्द्रमा उजुरी गरेका हुन् । 

कांग्रेस कास्की सभापति किशोरदत्त बरालले नेविसंघ क्याम्पस इकाईले सचिवबिनै निर्वाचनमा जाने भनेपछि आफूले बोल्ने कुनै ठाउँ नभएको बताए । उम्मेदवार, निर्वाचनको विषयमा पार्टीले कुनै हस्तक्षेप नगरेको सभापति बरालले दाबी गरे । ‘स्ववियुको निर्वाचन निर्देशिकाले क्याम्पसको विद्यार्थी संगठन चिन्छ, राजनीतिक दल चिन्दैन । क्याम्पसकै विद्यार्थीले सचिवबिनै जान तयार छौं भनेर सर्वदलीय बैठकमा हस्ताक्षर गरेपछि पार्टीले बोल्ने ठाउँ रहेन,’ उनले कान्तिपुरसँग भने । 

स्ववियु निर्वाचनका लागि संकलित पैसा अपचलन गरेको आरोपमा कुनै सत्यता नरहेको सभापति बरालले बताए । ‘विद्यार्थीले चुनावलाई पैसा चाहियो, पार्टीले गर्नुपर्छ भन्नुहुन्छ । खर्च आकाशबाट झर्ने होइन । साथीभाइ, शुभचिन्तकसँग माग्ने हो,’ सभापति बरालले थपे, ‘पैसा उठेकै छ । फलानोले यति दियो भन्ने कुरा आधिकारिक बैठकमा हुन्छ ।’ 

वैशाख ५ मा जिल्ला समितिको बैठक बस्ने र त्यही बैठकमा आम्दानी–खर्च प्रस्तुत गर्ने उनले बताए । चर्को बोलेर, लाञ्छना लगाएर नेता बनिन्छ भन्ने गलत संस्कृति विकास भएकाले आफूमाथि आर्थिक अपचलनको झुटो आरोप लगाइएको सभापति बरालले दाबी गरे । 

अनुप

Link copied successfully