काठमाडौँ — संघीय निजामती सेवासम्बन्धी विधेयक संसदीय उपसमितिबाट फरक मतसहित पारित भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिबाट उक्त विधेयक फरक मतसहित पारित भएको हो ।
उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' बारेको प्रतिवेदन समिति सभापति रामहरि खतिवडालाई हस्तान्तरण गरेका छन् ।
उपसमिति सदस्यहरूले विधेयकमा कुलिङ पिरियड, कर्मचारी युनियन र अतिरिक्त सचिवका सम्बन्धमा फरक मत राखेका छन् । रास्वपा डा. चन्दा कार्की र राप्रपा सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीमा दलीय ट्रेड युनियन खारेज हुनुपर्ने माग राखेका छन् ।
उनीहरूले एक मात्र आधिकारिको कर्मचारी युनियन राख्नुपर्ने प्रस्ताव राखेका छन् । त्यस्तै प्रदेश मन्त्रालयहरूमा अतिरिक्त सचिव राख्नुपर्ने माओवादी, रास्वपा, नेकपा एस, राप्रपा र जसपा नेपालका सांसदहरूको प्रस्ताव छ ।
