बाराका भरत बागलुङ सरे, फरकबहादुरसँग दोस्ती निभाए

बाराबाट ३१ वर्षअघि बागलुङ आएका उनी मिस्त्री काम गर्छन्, मिस्त्री नै हुन् फरकबहादुर पनि । दुईको भेट १८ वर्षअघि बागलुङ बजारमै भएको हो ।

चैत्र १४, २०८१

दीपक परियार

Bharata of Bara moved to Baglung, struck up a friendship with Farak Bahadur

पोखरा — बागलुङेको ‘आइच्च का, गइच्च का’ । बाराबाट तीन दशकअघि बागलुङ बसाइँ सरेका भरत यादवलाई अचेल यस्तै लवजमा बोल्ने बानी परेको छ । एक सातादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा बागलुङका ६७ वर्षीय फरकबहादुर श्रीस छटपटाइरहेछन् । चन्दा उठाएर फरकबहादुरको उपचार गर्न आएका यादव आफैं कुरुवा बसिरहेका छन् । 

बाराबाट ३१ वर्षअघि बागलुङ आएका उनी मिस्त्री काम गर्छन्, मिस्त्री नै हुन् फरकबहादुर पनि । दुईको भेट १८ वर्षअघि बागलुङ बजारमै भएको हो । बागलुङको गलकोट नगरपालिका–३ रिघाका फरकबहादुर ५० को दशकमा काम खोज्दै भारतको हिमाचल प्रदेश पुगे । मजदुरी गरे । माओवादीनिकट अखिल भारत नेपाल एकता समाजमा आबद्ध भए । भारत सरकारले उक्त संस्थालाई प्रतिबन्ध लगाएपछि नेपाली जनअधिकार सुरक्षा समितिको नाममा माओवादीमै सक्रिय भए । ०६२ मा उनलाई पार्टीले रुकुम–रोल्पा खटायो । 

पार्टी खुला भएपछि उनी ०६३ मा पोखरा रंगशालाबाट सार्वजनिक भए । मजदुर संगठनको जिम्मा लिएर बागलुङ फर्किए । अखिल नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष बने । त्यही बेला उनको भेट भरत यादवसँग भयो । मिस्त्री काम गरिरहेका भरतलाई फरकबहादुरले अखिल नेपाल निर्माण मजदुर संघमा संगठित गराए । पछि उनी संघको जिल्ला अध्यक्ष बने ।

बाराबाट दमौली हुँदै उनी ०५० मा पोखरा आएका थिए । पोखरा आएपछि तीन महिना ब्रिटिस क्याम्पमा रंग लगाउने काम पाए । त्यसपछि १५ दिन बेरोजगार भए । बागलुङमा उनका दाइ कुलदीप यादव साइकल पसल चलाउँथे । दाइलाई भेट्न उनी त्यतिबेला २७ रुपैयाँ भाडा तिरेर पोखराबाट बागलुङ बजार पुगे । त्यहाँ उनले घरमा रंग लगाउने, प्लास्टर गर्ने काम गर्न थाले । साइकल पसल घाटामा गएपछि उनका दाइ बारा फर्किए । उनले बागलुङ छोड्न मानेनन् । 

बागलुङमा उनलाई अड्याएको थियो सरिताको मायाले । बागलुङ बजारबाट पश्चिमतिर पर्ने ताराखोलामा बन्न लागेको विद्यालयमा उनी मिस्त्री काम गर्न पुगेका थिए । भरत यादव र सरिता विश्वकर्माको प्रेम त्यहीँ अंकुरायो । उनी मधेशका गैरदलित, सरिता पहाडी दलित । सरिताका माइतीले हासीखुसी स्वीकारे । बिहे भएको ८ वर्षसम्म उनले सरितालाई घरमा लैजाने आँट गरेनन् । ‘अछूत बिहे गर्‍यो भनेर गाउँमा बस्न दिँदैनन् भन्ने थाहा थियो,’ फरकबहादुरलाई भिडियो एक्सरे गरेर ह्विलचियरमा ल्याएपछि एकछिन सुस्ताउँदै उनले भने, ‘बाध्य भएर श्रीमतीको जात ढाँटेर लगेँ ।’ 

श्रीमती बाराबाट बागलुङ फर्काएको दुई महिनापछि उनी फेरि गाउँ गए । बागलुङको शीतल हावापानीमा बानी परेका उनले तराईको गर्मी खप्न सकेनन् । बागलुङबाट जाँदा शीरमा भादगाउँले टोपी थियो । बाटोमा भेटिएका साथीभाइले उनलाई टोली खोलेर मात्रै गाउँ प्रवेश गर्न भने । उनले भादगाउँले टोपी फुकालेर क्याप लगाए । ‘त्यहाँको रहनसहन, चालचलन पनि मलाई ठीक लागेन,’ अस्पतालमा कालो भादगाउँले टोपीमै आएका उनले भने, ‘एक सुर्को जमिन जोडेर यतै बसें ।’ यसपल्ट बसाइँसराइँको कागज ल्याए । बाराबाट बागलुङको भीमपोखरा बसाइँ सरे । बसाइँ सरेदेखि उनी बारा फर्किएका छैनन् । 

यता, फरकबहादुरलाई श्रीमतीले छोडिन् । सम्बन्धविच्छेद पछि तीन वर्षीय छोरा सक्षमको जिम्मा आफैंले लिए । ०४६ मा उनलाई क्षयरोगले समातेको थियो । ०७६ मा दमले पनि भेट्यो । बिरामी अवस्थामै पनि उनले मिस्त्री काम छोडेनन् । स-साना ठेक्कापट्टा पनि लिन थाले । रोगले च्याप्दै गयो । कमाएको पैसा उपचारमा ठिक्क भयो । ‘मलाई बुबाआमा कस्ता थिए भन्ने याद छैन,’ अक्सिजन मास्कभित्रबाटै अस्पष्ट शब्दमा उनले भने, ‘छोराले पनि आमाको माया पाएन । पढाइ पनि बीचैमा छोड्यो ।’ 

Bharata of Bara moved to Baglung, struck up a friendship with Farak Bahadurपोहोरबाट उनी श्वासप्रश्वाससम्बन्धी समस्याले थला पर्ने गरी बिरामी भए । माओवादीले उनको उपचारमा धेरथोर सहयोग गर्‍यो । गत पुसमा उनी एक महिना पोखराकै गण्डकी मेडिकल कलेजमा उपचारका लागि आए । स्वास्थ्य बिमाबाहेक ४५ हजार रुपैयाँ खर्च भयो । त्यसयता उनले काम गर्न सकेका छैनन् । बागलुङ बजारमा ४ महिनाको कोठाभाडा खप्टिएको छ । स्थानीय सञ्चारमाध्यमको पहलमा जुटेको खाद्यान्नले गुजारा टारिरहेका थिए । 

उपचार गर्ने रकम र अस्पताल लैजाने सहयोगीको अभावमा उनी चैतको पहिलो सातादेखि कोठाबाट निस्कन सकेनन् । उनको यो अवस्थाका बारेमा थाहा पाएर भरतको मन कटक्क खायो । चैत ६ मा उनले माइकिङ गरेर बागलुङ बजारमा चन्दा उठाए । चार घण्टामा २० हजार रुपैयाँ संकलन गरे । स्थानीय पत्रकार अनिश खातीको पहलमा १० हजार रुपैयाँ संकलन भयो । भोलिपल्ट साथमा ३० हजार रुपैयाँ बोकेर उनले फरकबहादुरलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याए । 

माओवादीका स्थानीय नेताले कुरुवाको व्यवस्था गर्ने बताएका थिए । पाँच दिन कट्दा पनि कुरुवा आएनन् । भरतको मोबाइलमा तारन्तार घण्टी बज्न थाल्यो । निर्माणको जिम्मा लिएको ठाउँ, परिवार, आफन्तको फोन आइरहन्थ्यो । उनले छिट्टै बागलुङ फर्किने बताइरहन्थे । तीन छोरा र एक छोरीमध्ये कान्छो छोरा ०७६ मा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । छोराको उपचार अहिलेसम्म चलिरहेको छ ।

फरकबहादुरको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो । तर अस्पतालमा नपाइने औषधि बाहिर किन्नुपर्थ्यो । गण्डकी प्रदेशसभामा माओवादी संसदीय दलकी प्रमुख सचेतक कुसुम बुढाले अस्पताल पुगेर फरकबहादुरलाई भेटिन् । आफ्नै जिल्लावासी र माओवादी कार्यकर्ता भएकोले पनि उपचारमा सहयोग गर्ने बचन दिइन् । प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक पनि अस्पताल पुगेर फरकबहादुरलाई भेटे । 

चिकित्सकले फरकबहादुरको दाहिने फोक्सोमा निमोनिया भएर पानी जमेको बताएका छन् । फोक्सोमा जमेको पानी निकाल्न पाइप जोडिएको छ । बाहिर १० हजार रुपैयाँमा किन्नुपर्ने पाइप अस्पतालकै चिकित्सकको पहलमा निःशुल्क उपलब्ध भएको हो । उनको हात खुट्टा सुन्निएका छन् । आफैं उठेर हिँड्न सक्दैनन् । अझै केही दिन अस्पतालमै बस्नुपर्छ । उठबस गराउन ५४ वर्षीय भरतबहादुर एक्लैलाई गाह्रो भएको छ । तैपनि उनी कुरुवा बसिरहेका छन् ।

कुनै बेला उनलाई माओवादीनिकट निर्माण मजदुर संघमा संगठित गराउने फरकबहादुर उनका ‘कमान्डर’ हुन् । फरकबहादुर उही पार्टीमा छन् । भरतले चार महिनाअघि पार्टी फेरे । फरकबहादुरलाई हेर्ने दृष्टिकोण फेरेका छैनन् । ‘उहाँ जत्तिको इमान्दार कोही देखेको छैन । ठेक्का लिएपछि घाटा भए होस् काम गर्ने मान्छेलाई पहिला दिनुपर्छ भन्नुहुन्थ्यो,’ फरकबहादुरबारे उनले भने, ‘पाँच पैसा कसैको खाएको थाहा पाएको छैन । उहाँको त्यही इमान्दारिताले यहाँसम्म आएँ । अब निको बनाएरै फर्किन्छु ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully