संविधान संशोधन गर्नुपरे विधिसम्मत तरिकाले गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

चैत्र १४, २०८१

ज्योती श्रेष्ठ

Amendment of the constitution can be done in a lawful manner: Deputy Prime Minister Singh

काभ्रे — उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्नुपरे विधिसम्मत तरिकाले गर्न सकिने बताएका छन् । 

बनेपामा बनेपा नगरपालिकाको ४४औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नुपरे विधिसम्मत तरिकाले गर्न सकिने बताएका हुन् । संविधानको स्थायित्व र महत्व पुनः स्पष्ट पार्दै सरकार कुनै पनि दबाब वा भ्रममा नपर्ने बताए ।

संविधान जनताको संघर्षको परिणाम भएको भन्दै यसको विकल्प नरहेको उनले दाबी गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान लागू भएसँगै दुईपटक आमनिर्वाचन र स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको बताए । ‘संविधान अभ्यासको क्रममा देखिएका कमीकमजोरीलाई विधि र प्रक्रियाबाट सुधार गर्न सकिन्छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपरे विधिसम्मत तरिकाले गर्न सकिन्छ, तर विकल्प खोज्ने नाममा अन्योल सिर्जना गर्ने कोसिस अस्वीकार्य छ ।’

संविधानलाई चुनौती दिने गतिविधिहरूप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले कुनै पनि भ्रममा नपर्न आग्रह गरे । जस्तोसुकै चुनौती आए पनि समाधान संविधानबाटै खोज्नुपर्ने र कसैले केही भन्दैमा सरकार नडगमगाउने उनको भनाइ छ । 

नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको र सरकारले नागरिकको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रम पनि गदै आएको बताए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully